रौतहट । विद्युत् चुहावट गरेको आरोपमा रौतहटको विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन । नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाको विद्युत् चुहावट नियन्त्रण टोलीले पक्राउ गरेको हो ।
नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र चन्द्रनिगापुरका प्रमुख धीरेन्द्र यादवका अनुसार वृन्दावन र चन्द्रपुर नगरपालिकाका विभिन्न स्थानमा मिटरको शील तोडेर, हुकिङ तथा तारमा सिधैं हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
उनीहरूलाई नियमअनुसार जरिवाना तिराएर चेतावनी दिइ रिहा गरिने उनले जानकारी दिए । विद्युत चुहावटले आर्थिक क्षति हुनुका साथै आगलागी र दुर्घटनाको जोखिम पनि बढाउने भएकाले यसलाई कडाइका साथ नियन्त्रण गरिने उनले बताए ।
नेपाल प्रहरी, सशस्त्र प्रहरीको सहयोगमा गाउँ गाउँमा विद्युत् चुहावट नियन्त्रण अभियान थलिएको नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुरले जनाएको छ । वितरण केन्द्रले आगामी दिनमा पनि विद्युत चुहावट रोक्न अभियानलाई अझै तीव्रता दिने बताएको छ । उक्त शाखामा अहिले ३२ हजार ८ सय भन्दा बढी ग्राहक रहेका छन ।
प्रतिक्रिया