जनकपुर । जनकपुरधामस्थित किशोरी फाउन्डेसनको सुधार केन्द्रमा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–१० डुमरियाका २० वर्षीय राजकुमार यादव रहेका छन् । दुई महिनादेखि सुधार केन्द्रमा बस्दै आएका यादवको बुधबार साँझ निधन भएको हो ।
लागुपदार्थ दुव्र्यसनीमा संलग्न राजकुमारलाई श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान जनकपुरधामकै एक निजी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पतालमा राजकुमारको अवस्था सामान्य भएपछि डिस्चार्ज गरेको थियो । साँझ फेरि समस्या भएपछि सुधार केन्द्रले राजकुमारलाई प्रादेशिक अस्पताल लैजाँदा उनको मृत्यु भइसेको प्रादेशिक अस्पतालका आकस्मिक कक्षका इन्चार्ज शरद यादवले जानकारी दिए ।
मृतक राजकुमारको परिवारजनले सुधार केन्द्रमा अत्यधिक औषधि खुवाइएकै कारण मृत्यु भएको आरोप लगाएका छन् ।
यता धनुषा प्रहरीले पोस्टमार्टम रिर्पोट आएपछि मात्र केही भन्न सकिने प्रतिक्रिया दिएको छ । धनुषा प्रहरीका अनुसार राजकुमारको पोस्टमार्टम बिहीबार भइसकेको छ भने रिपोर्ट आउन बाँकी रहेको छ ।
प्रतिक्रिया