झपा । भद्रपुर झापा गोल्ड कप फुटबलमा घरेलु टोली भद्रपुर ब्लेजर विजयी भएको छ । बुधबार भएको उद्घाटन खेलमा भारतको दार्जिलिङ पुलिसमाथि ४–३ को रोमाञ्चक जित निकाल्दै भद्रपुर ब्लेज क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
भ्रदपुरले सुरुआती ३ गोलको अग्रता मुस्किलले जोगाउँदै अघिल्लो यात्रा तय गर्न सफल भयो । खेल सुरु भएको तेस्रो मिनेटमै साम कार्लोसले गोल गर्दै भद्रपुरलाई अग्रता दिलाएका थिए ।
खराब प्रकाशका कारण निर्धारित ८० मिनेटको खेलको ३९ औं मिनेटमा आशिष चापागाईंले गोल गरेपछि घरेलु टोलीको अग्रता दोब्बर भएको थियो ।
दोस्रो हाफको दोस्रो मिनेटमै सत्यम शर्माले गोल गरेपछि भद्रपुरको अग्रता तेब्बर भएको थियो ।
३ गोलले पछि परेको दार्जिलिङले लगातार गोल फर्काउँदै खेल बराबरी गरेपछि रोमाञ्चक बन्न पुग्यो । ५१ औं मिनेटमा प्रशान्त राईले गोल गर्दै दार्जिलिङलाई खेलमा फर्काउने संकेत गरेका थिए । ५६ औं मिनेटमा नयन प्रधानको गोलले दार्जिलिङले दूरी ३–२ मा झारेको थियो भने ७० औं मिनेटमा रुड गुलिटले गोल गरेपछि दार्जिलिङ ३–३ को अवस्थामा आयो ।
तर, त्यो बराबरी दार्जिलिङले २ मिनेट पनि टिकाउन सकेन । ७२ औं मिनेटमा भद्रपुरका प्रताप राईले गोल गर्दै ४–३ को जित पक्का गरे ।
भद्रपुरले सेमिफाइनल प्रवेशका लागि अब बाइ पाएर बसेको विभागिय क्लब नेपाल पुलिससँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया