Logo

मनोरञ्जन

मेरो भ्वाइस र मेरो डान्स युनिभर्सको पोर्चुगल अडिसनबाट ८ जना छनोट



लिस्बन । सर्वाधिक धनराशिको विश्वस्तरीय नेपाली गायन र नृत्यको रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को दोस्रो संस्करणका लागि पोर्चुगल अडिसनबाट ८ प्रतियोगी छनोट भएका छन् ।

इन्ट्रा–नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले राजधानी लिस्बनमा सम्पन्न गरेको अडिसनबाट मेरो भ्वाइस युनिभर्स तर्फ ५ र मेरो डान्स युनिभर्स तर्फ ३ जना प्रतियोगी अर्को चरणका लागि छनोट भएका हुन् ।

पोर्चुगलमा पहिलोपटक भएको अडिसनमा युरोपका विभिन्न मुलुकका गायन तर्फ ३२ जना र नृत्य तर्फ १६ जना प्रतियोगीले भाग लिएको फाउन्डेसनका पोर्चुगल संयोजक दीपेश विष्टले जानकारी दिए । छनोट भएका प्रतियोगीहरुलाई अर्को चरणका लागि फाउन्डेसनले आफ्नै खर्चमा काठमाण्डौं लैजाने विष्टले बताए ।

अडिसनमा निर्णायकको भूमिकामा गायन तर्फ गायक तथा संगीतकार केशब पौडेल र गायक अर्जुन सोनाम थिए । यस्तै, नृत्य तर्फ नृत्य निर्देशक रुपेश उप्रेती र नृत्यंगाना देवी गर्बुजामगर थिए । विश्वभर छरिएर रहेका नेपाली प्रतिभाका कलाकारहरुबीच प्रतिस्पर्धा गराइने दुवै शोका विजेताले एक–एक करोड रुपैयाँ, उपविजेताले २५–२५ लाख र तेस्रो हुनेले १०–१० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

विश्वभर छरिएर रहेका नेपाली समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरुको पहिचान गर्न र नेपाली भाषा, कला र संस्कृतिको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने अभियानका साथ विश्वस्तरीय रियालिटी शो को आयोजना गरिएको फाउन्डेसनका कार्यकारी निर्देशक चूडामणि भट्टराईले बताए । नेपाली भाषा, कला र संस्कृतिको विश्वव्यापी प्रवद्र्धन गर्ने यो अभियानले प्रतिभाशाली नेपालीहरूलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्ने भट्टराईले बताए ।

अमेरिका, क्यानडा, बेलायत र पोर्चुगलमा सम्पन्न भएको अडिसन अन्य मुलुकहरु थाइल्याण्ड, हङकङ, जापान, दुबई, कतार, अष्ट्रेलिया र भारतमा अडिसनको तयारी भइरहेको संस्थाले जनाएको छ । यस्तै नेपालका लागि बिर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसन हुनेछ । विश्वभरबाट अडिसनमा छनोट हुने गायन तर्फका एक सय २० प्रतिभा र नृत्य तर्फका एक सय २० गरी कुल दुई सय ४० जना प्रतियोगीलाई फाउन्डेसनले अर्को चरणका लागि काठमाण्डौं लैजाने छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ७ : ३६ बजे