Logo

राजनीति

 ‘राजाहरुबाट भएको योगदानलाई अबमूल्यन गरेर प्रजातन्त्र सुदृढ हुन सक्दैन’



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले विगतमा राजाहरुबाट भएको योगदानलाई अबमूल्यन गर्ने प्रवृत्तिले राष्ट्र विकास र प्रजातन्त्र सुदृढ हुन नसक्ने बताएका छन् ।

बुधबार राप्रपा नेपाल राजनीतिक विभागले प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरेको गोष्ठीलाई सम्बोधन गर्दै उनले षड्यन्त्र पूर्वक नै भएपनि राजसंस्थालाई पाखा लगाएको भन्दै राजसंस्थाबाट भएको कामलाई अबमूल्यन गर्न नहुने बताए ।

उनले भने, ‘अहिलेका नेताहरुले के बुझ्नु पर्छ भने कि हिजोको इतिहास मेटाउन खोज्दा भोलीको दिनमा नयाँ पीडिले अहिलेका नेताहरुको इतिहासलाई पनि मेटाई दिनेछन् । राज संस्था रहोस, नरहोस अहिले प्राविधिक रुपमा षड्यन्त्र पूर्वक नै भएपनि राजसंस्था पाखा लगाइएको अवस्था छ । तर विगतमा राजाहरुबाट भएको योगदानलाई अबमूल्यन गर्ने प्रवृत्तिले कहिले पनि राष्ट्रलाई फाइदा पु¥याउन सक्दैँन् । विकास र प्रजातन्त्र सुदृढ हुन सक्दैँन् ।’

यसको साथै, उनले २०६२, ६३ को राजनीतिक परिवर्तनपछि राजा र जनताबीचको एकता र साझेदारीको धागोलाई चुडाउने काम भएको भन्दै त्यसको परिणाम स्वरुप राजनीतिक परिवर्तन भएको १८ वर्ष पछाडी पनि देश संकटै संकटको चक्रवियुमा फसेको बताए ।

उनले भने, ‘नेपालको स्वतन्त्र पहिचानको निर्माण र नेपालको आधुनिकिकरण, सामाजिक आर्थिक रुपान्तरणको जग हाल्ने काम राजा र जनताको साझा प्रयासबाट नै भएको हो । यो कुरालाई आजको पीडिले नजरअन्दाज गर्नु हुदैँन् । २०६२, ६३ को राजनीतिक परिवर्तनपछि राजा र जनताबीचको एकता र साझेदारीको धागोलाई चुडाउने काम भयो, जसको परिणाम स्वरुप राजनीतिक परिवर्तन भएको १८ वर्ष पछाडी पनि देश संकटै संकटको चक्रवियुमा फसेको छ ।’

सरकारले देशमा राम्रो शिक्षा र रोजगारीको अवसर सिर्जना गर्न नसकेको कारण लाखौंको संख्यामा युवाहरु विदेश पलायन हुनु अहिलेको सबैभन्दा ठूलो संकट भएको पनि उनको भनाई छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ६ : ४७ बजे