Logo

समाचार

देउवाले इप्पान प्रतिनिधि मण्डलसँग भेट्दा, ऊर्जा उद्यमीलाई कठिनाइ नदिन आग्रह



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का पदाधिकारीसँग भेटमा ऊर्जा उद्यमीहरूलाई कठिनाइ नदिनुपर्नेमा जोड दिएका छन्। उनले भने, “ऊर्जा उद्यमीलाई दुख दिने काम बन्द गर्नुपर्छ।”

आईतबार बुढानिलकण्ठमा भएको भेटमा देउवाले वन संरक्षणका कारण जलविद्युत र अन्य विकास निर्माणका कार्यहरूमा समस्या आइरहेको समेत बताएका छन्।

इप्पानका अध्यक्ष गणेश कार्कीले १५ खर्ब रुपैयाँको लगानी भइसकेको र ६५ लाख सर्वसाधारण लगानीकर्ताले लगानी गरेको क्षेत्रलाई विभिन्न प्रकारले दबाब दिनुमा असन्तोष व्यक्त गरे। उनले ऊर्जा उद्यमीहरूको समस्यामा देउवाको ध्यान आकर्षण गर्दै जलविद्युत क्षेत्रमा ४५ हजार मेगावाटका आयोजनामा प्रभाव पर्ने खतराको बारेमा जानकारी दिए। 

कर्खीले सरकारको कार्यकारी निर्णय र सर्वोच्च अदालतका आदेशहरूका कारण ऊर्जा क्षेत्रमा अवरोध उत्पन्न भएको बताएका छन्। उनले, “लेखा समितिको निर्णय र सार्वजनिक निष्काशन रोक्नाले ७४ कम्पनीको भविष्य प्रभावित भइरहेको छ,” भने।

इप्पानका महासचिव बलराम खतिवडाले यस क्षेत्रमा ६५ लाख सर्वसाधारण र वित्तीय संस्थाबाट १५ खर्ब रुपैयाँको लगानी भइसकेको भन्दै यसका कारण अर्थतन्त्रमा ठूलो समस्या आउन सक्ने चेतावनी दिए। उनले ४२ वटा कम्पनीको आइपीओ र ४१ वटा एफपीओ रोकिएका कारण आर्थिक संकट उत्पन्न हुने बताएका छन्।

इप्पानका कार्यसमिति सदस्य भरत पराजुलीले सर्वोच्चको आदेशले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणमा रोक लगाउनु अनावश्यक भएको बताए। उनले यसका लागि कानुनी समाधान खोज्न आग्रह गरे। 

सभापति देउवाले यी समस्याहरूलाई समाधान गर्न प्राथमिकता दिने आश्वासन दिएका छन्।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  ४ : ०६ बजे