काठमाडौं । नेपाल महिला रग्बी क्लबले ’राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गर्दै क्लबले फागुन ६ र ७ गते ’राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना गर्न लागरेको जानकारी दिएको हो ।
भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा ६ प्रदेश र दुई क्लब गरी ८ टिम सहभागी हुने क्लबले जनाएको छ ।
सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबले प्रतियोगितामा सहभागी हुने छन् ।
आयोजकका अनुसार सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन् ।
प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद र उपविजेता टिमलाई ट्रफी, मेडल सहित ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको छ ।
साथै प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई ट्रफीबाट सम्मानित गरिनेछ भने सहभागी सम्पुर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिनेछ ।
दशौं राष्ट्रिय खेलकुदको तयारीलाई सघाउ पुर्याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको क्लबले बताएको छ ।
प्रतिक्रिया