काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले बीपी राजमार्गको काम ढिला भएको स्वीकार गरेका छन् ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले असोजमा भत्किएका सडकहरु अहिलेसम्म नबनेकोप्रति धेरै प्रश्न उठेको भन्दै निर्माण कामहरु जारी रहेपनि काममा केही ढिला भएको बताए ।
उनले भने, ‘मन्त्रालयले भौतिक पूर्वाधारको क्षेत्रमा परिवर्तन ल्याउनको लागि कामहरु भइरहेका छन् । असोजमा भत्किएका सडकहरु अहिलेसम्म नबनेको कुराहरु उठेको छ । नबनेको अवस्था त होईन्, भत्किएका सडकहरु बनाउने कामहरु केही न केही त भइरहेको छ । आवतजावत नै बन्द हुने अवस्था सिर्जना भएको छैन् । आठसय भन्दा धेरै ठाँउहरु अबरुद्ध भएका थिए । ती ठाँउहरुमा निर्माणका कामहरु पनि भएका छन् । तर सबैले देख्ने भनेको बीपी राजमार्ग नै हो, त्यहाँ काम ढिला भएको कुरा स्विकार गर्छौ ।’
यसको साथै, उनले राजमार्ग निर्माणको कामहरु छिटो गर्नको लागि ल्याएको अध्यादेशको पनि विरोध भएको भन्दै कानूनी समस्याहरुले गर्दापनि ढिला भएको बताए ।
उनले भने, ‘राजमार्ग निर्माणको विषयमा अर्थसँग बारम्बार भइरहेको छ । तर पनि कुन मोडेलबाट जाने भन्ने कुरामा देशका कानून नियमलाई तत्कालै सम्बोधन गर्न पनि नसकिने, अध्यादेश ल्याउँदा त्यसकै विरोध हुने अवस्था छ । कानूनी समस्याहरु पनि रहेको हुनाले पनि ढिला भएको छ ।’
प्रतिक्रिया