Logo

राजनीति

मन्त्रालयको  प्रशासन नै  फितलो छ, सुधार गरौं : सञ्चारमन्त्री गुरुङ



काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालयको  प्रशासन नै  फितलो भएको बताएका छन् ।

बुधबार २०८१/८२ को दोस्रो त्रैमासिक समिक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बोल्दै उनले मुख्य समस्या नै प्रशासन भएकाले यसलाई सबैले मिलेर सुधार गर्नुपर्ने बताएका हुन् ।

उनले  भने, ‘हाम्रो प्रशासन एकदमै फितलो छ । मुख्य समस्या नै हाम्रो प्रशासन हो । यसमा हामी सबैले मिलेर सुधार गरौं । योसँगै नीतिगत कुराहरु पनि छन् । यसलाई हामी मिलाउने काम गरिरहेका छौं । यसमा हुलाक सेवा, रासस र गोरखापत्रको पनि नयाँ ऐन बनाउनुपर्ने छ । यो चाँडो हुन सकिरहेको छैन ।’

यसैगरी, उनले हाम्रो विरासत नै फोहोर थुपार्ने प्रवृत्तिको भएको बताए । उनले आफ्नो मन्त्रालयलगायत जहाँ पनि कर्मचारी र बजेटको पनि अभाव हुने गरेको बताए ।

उनले भने, ‘हाम्रो विरासत नै गञ्जागोल  छ । एकअर्कालाई आरोप प्रत्यारोप लगाउने र फोहोर थुपार्ने प्रवृत्तिको छ । यसलाई हामीले सरसफाई गर्नुपर्ने छ । हाम्रो मन्त्रालयलाई धेरै बजेट नै राखेको छैन । जहाँ पनि कर्मचाीको अभावसँगै बजेटको पनि अभाव हुन्छ ।’

साथै, उनले विद्यमान जनशक्ति भएपनि कार्य क्षमता र कार्यदल एकदमै कमजोर रहेको बताए । उनले कार्य क्षमता र कार्यदल कमजोर भएकाले लिडरसिपको भूमिका कमजोर देखिएको बताए ।

उनले भने, ‘हामी जति विद्यमान जनशक्ति छ त्यसको चाँही कार्य क्षमता र कार्यदल एकदमै कमजोर छ । यसमा राम्रो गर्नलाई ट्रेनिङ भएन की के भएन यसले गर्दा कार्य क्षमता कमजोर भएको हो की ? आम रुपमा यो समस्या हो । यसमा लिडरसिपको भूमिका कमजोर देखियो । लिडरसिपहरुले ध्यान दिनुपर्ने अवस्था आएको छ ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ४९ बजे