Logo

राजनीति

ट्रम्प प्रशासनले चिनियाँ लगानीलाई अझ खुला गर्नसक्ने अपेक्षा



काठमाँडौ। राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा नयाँ अमेरिकी प्रशासनले ठूलो चिनियाँ लगानीका लागि अझ खुला रहने अपेक्षा गरिएको छ ।

यूएस–चीन सम्बन्धको राष्ट्रिय समितिका अध्यक्ष स्टीफन ओर्लिन्सले भने,‘मैले बुझेको छु कि राष्ट्रपति ट्रम्पले अघिल्लो प्रशासनको तुलनामा संयुक्त राज्य अमेरिकामा चिनियाँ लगानीलाई धेरै स्वागत गर्नेछन् । चिनियाँ उद्यमहरूले संयुक्त राज्य अमेरिकामा रोजगारी सिर्जना गर्न उत्साहित हुनेछन् ।

हाल एक अर्ब डलरभन्दा बढीको लगानी छ । उहाँले अनुमतिहरू जारी गर्न अझ सजिलो बनाउने बताउनुभएको छ । त्यसैले यो क्षेत्र सुधार गर्न सकिन्छ भन्ने भावना छ ।’

ओर्लिन्सले दुई देशबीचको व्यापार सम्झौतामा संरचनागत सुधारहरू समावेश गर्दा चिनियाँ उपभोक्ता र उद्यमी दुवैलाई आर्थिक फाइदा पुग्नेगरी व्यापार सम्बन्धमा सुधार ल्याउने कुरा पनि उल्लेख गरे। ट्रम्पको शपथ समारोहमा चिनियाँ उपराष्ट्रपति हान झेङले वासिङ्टन डीसीमा भाग लिएका थिए ।

ट्रम्पले गरेका महत्वपूर्ण निर्णय

डोनाल्ड ट्रम्पले चार वर्षपछि ह्वाइट हाउसमा फर्किएपछि आफ्नो दोस्रो कार्यकालको सुरुवात गरे । त्यसक्रममा उनले विभिन्न दस्तावेजहरुमा हस्ताक्षर गरेका छन् भने केही आदेश समेत जारी गरेका छन् ।

सोमबार राति अमेरिकाको ४७ औं राष्ट्रपतिका रुपमा सपथ ग्रहण गर्दै उनले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने समेत घोषणा गरेका छन् । वाशिंगटन डीसीमा चिसो मौसमको कारण उनको उद्घाटन समारोह घरभित्र आयोजना गरिएको थियो ।

ट्रम्पले प्रधानन्यायाधीश जोन रोबट्र्सले आफ्नो पदको सपथ लिएका थिए। शपथपछि उनले मेक्सिकोसँगको सिमानामा राष्ट्रिय सङ्कटकालको घोषणा गरको छन् । त्यस्तै उनले बाइडन प्रशासनले लागु गरेका झण्डै असीवटा प्रावधानहररुलाई उल्टाइ दिए भने पेरिस जलवायु सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे ।

त्यस्तै उनले सरकारी खर्च प्रभावकारीता सम्बन्धी विभागको स्थापना, विश्व स्वास्थ्य सङ्गठनको सदस्यताबाट बाहिरिने, दक्षिणी सिमानामा ‘राष्ट्रिय सङ्कटकाल’को घोषणा, टिकटक विरुद्धको प्रतिबन्ध कार्यान्वयनमा आउनमा अस्थायी रोक प्रक्रिया अघि बढाउने घोषणा गरे ।

त्यस्तै राष्ट्रपति ट्रम्पको कार्यकारी आदेशबाट चार वर्ष अघि अमेरिकी संसद् भवन क्यापिटलमा जबर्जस्ती प्रवेश गरेर हुलदङ्गा भएको घटनामा संलग्न झण्डै १६ सय जनालाई क्षमादान दिने निर्णय पनि गरेका छन् ।

उनले तेल र ग्यासको उत्पादन बढाउने पनि घोषणा गरे । ट्रम्पले सबैभन्दा बलियो सेना निर्माण गर्ने वाचा पनि गरेका छन् । राष्ट्रपतिले मेक्सिकोको खाडीको नाम बदलेर गल्फ अफ अमेरिका राख्ने र पनामा नहर फिर्ता लिने कुरा दोहोर्याएका छन् । ट्रम्पको सपथ ग्रहण हुनुभन्दा केहीबेर अघि जेडी भान्सले उपराष्ट्रपतिको रूपमा शपथ लिएका थिए । (सीसीटीभीप्लस)

प्रकाशित मिति : ८ माघ २०८१, मंगलबार  १२ : ४० बजे