रामेछाप । रामेछापको हिमाली गाउँ लाहाछेवरका विद्यार्थीको लागि विद्यालयमा नै दिवा आवास सुरु भएको छ ।
रामेछाप जिल्लाको उत्तरी भेगको अन्तिम मानवबस्ती उमाकुण्ड गाउँपालिका–१ लाहाछेवरको श्री हिमालय आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई विद्यालयमा नै दिवा आवास सञ्चालनमा ल्याएको हो ।
सो बस्ती समुन्द्री सतहदेखि २ हजार ७ सय ५० मिटरको उचाइमा रहेको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सो विद्यालयका विद्यार्थीलाई बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म दिवा आवास सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेले जानकारी दिए ।
विद्यार्थीहरू नियमित विद्यालय नआउने, आए पनि समयमा विद्यालय नआउने, विद्यालय आउँदा पनि गृहकार्य नगरी आउने जस्ता समस्या भएका कारण बिहानदेखि साँझसम्म विद्यालयमा बसेर पठनपाठन गर्ने व्यवस्था मिलाउन लागिएको उनले बताए ।
बिहान ७ बजे विद्यालय आउने विद्यार्थीलाई विद्यालयमा नै बिहानको खाजा, खाना तथा दिउँसोको खाजा समेत खाने व्यवस्था मिलाइएको उनले जानकारी दिए । ‘विद्यार्थीहरू बिहान सबेरै विद्यालय आउँछन् १० बजेसम्म पढ्छन्, १० बजे नियमित कक्षा सुरु हुन्छ, ४ बजेपछि पनि विद्यालयमा नै बसेर गृहकार्य गर्छन्, गृहकार्य सकेपछि साँझ ५ बजे पछि मात्र घर फर्कन्छन्’, घिमिरेले भने ।
विद्यालयमा विद्यार्थी थोरै भए पनि सो गाउँबाट अर्को विद्यालयसम्म पुग्न निक्कै टाढा भएकोले २०३७ सालदेखि नियमित रूपमा विद्यालय सञ्चालन हुँदै आएको स्थानीय समेत रहेको उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले बताए ।
आर्थिक रूपमा कमजोर अवस्था भएका अभिभावकका विद्यार्थीहरू पढ्ने विद्यालय भएकोले विद्यार्थीको नियमित उपस्थिति र पठनपाठनलाई व्यवस्थित गराउन दिवा आवास सहितको कक्षा सञ्चालन गराएको उनले जानकारी दिए ।
‘अब शिक्षकहरू विद्यालयमा नै बस्नु हुन्छ, विद्यार्थीहरू पनि बिहानदेखि साँझसम्म विद्यालयमा नै हुन्छन्, पुरै समय पढ्ने पढाउने काम हुन्छ’, उनले भने ।
विद्यालयमा कार्यरत शिक्षकहरूलाई विद्यालयमा नै आवास र निःशुल्क खानाको व्यवस्था मिलाइएको छ । बालबालिकालाई पनि निःशुल्क खाना र खाजाको व्यवस्था गाउँपालिकाले व्यवस्थापन गर्ने भएको छ ।
विद्यालयमा इन्टरनेट तथा विद्युत् जडान गरिएको छ । कम्प्युटर, प्रिन्टर र बालबालिकालाई चिसोबाट बचाउन हिटरको समेत व्यवस्था गरिएको छ ।
शिक्षा बिना समाज अघि बढ्न नसक्ने भएकोले जस्तोसुकै समस्या परे पनि शिक्षाको विकास गर्नुपर्छ भनेर आफूहरू लागेको उमाकुण्ड गाउँपालिका–१ का वडाध्यक्ष ङावातिण्डु शेर्पा बताउँछन् ।
‘जग नै राम्रो नभएपछि माथि राम्रो नहुने भयो, त्यसैले जग नै राम्रो बनाउनुपर्छ भनेर आधारभूत विद्यालयलाई नै दिवा आवासीय बनाउन लागेका हौँ’ उनले भने ।
गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले गाउँपालिकाले शिक्षा क्षेत्रको विकासको लागि काम गर्दै आएको बताइन् । यसले शैक्षिक क्षेत्रमा सुधार हुँदै गएको पनि उनले जानकारी गराइन् ।
प्रतिक्रिया