Logo

मुख्य समाचार

पोखराको स्वागत गेट भत्काइएकोमा मेयर आचार्यलाई धम्कि



पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० मा पर्ने औद्योगिक क्षेत्रस्थित ऐतिहासिक स्वागत गेट भत्काइएको छ ।
पृथ्वी राजमार्ग विस्तारका क्रममा पोखरा महानगरपालिकाले ऐतिहासिक स्वागत गेट भत्काएको हो ।

पोखरा महानगरपालिकामा केही दिन अघि भएको सर्वपक्षीय बैठकको सहमति बमोजिम उक्त गेट भत्काइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए ।

विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी, र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको मेयर आचार्यले बताए ।

तर उक्त स्वागत गेट भत्काइएकोमा सामाजिक संजालमार्फत आफुलाई धम्कि आएको पनि मेयर आचार्यले दाबी गरे ।
उनले उपयुक्त स्थानमा उचित समयमा ऐतिहासिकता कायम नै रहने गरी स्वागत गेट पुनर्निर्माण गरिने प्रतिबद्धता जनाए ।

मेयर आचार्यले पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड आगामी तीन महिनाभित्र एकतर्फी बनिसक्ने दाबी गरे । उनले त्यसका लागि ठेकेदार कम्पनीलाई दबाब दिने काम भैरहेको बताए ।

मुग्लिन–पोखरा यसै क्रममा पृथ्वी राजमार्गको एकतर्फी मार्ग विस्तार तीव्र गतिमा अगाडि बढाइएको छ । पोखरा महानगरपालिकाले सबै सरोकारवालालाई विकास र पूर्वाधार निर्माणका लागि सहकार्य गर्न आह्वान गर्दै व्यवस्थित र समृद्ध पोखरा निर्माणमा साथ दिन आग्रह गरेको छ ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार  १० : १९ बजे