काठमाडौं । आज देशभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे संक्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) संक्रान्ति भनिन्छ ।
आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लागदछ । यी ठाउँमा आज विशेष मेलासमेत लाग्ने गर्दछ ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन् । तराईवासीले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् ।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।
धर्मसिन्धुमा माघे संक्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ ।
थारू समुदायले नयाँ वर्षका रूपमा माघी पर्व मनाउँदै
थारू समुदायले आज माघ १ गतेलाई माघी पर्व एवं नयाँ वर्षका रूपमा धुमधामका मनाउँदै छन् । आज बिहानै स्नान, दान, खानपिन र रमाइलो गरेर माघी पर्व मनाइरहेका हुन् ।
सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्छ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने गरिएको छ ।
माघ १ गतदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । राजधानीसहित अन्य स्थानमा बस्ने थारू समुदायले पनि आज यो पर्व विशेष रूपमा मनाउँदै छन् ।
प्रतिक्रिया