काठमाडौं । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकारले अहिलेको प्रकृयाहरुमा भएका जटिलतालाई अन्त्य गरेर चाँडो सेवा प्रवाहलाई प्राथमिकतामा राखेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रथम वार्षिक साधारणसभामा बोल्दै उनले, सरकारले सेवा सुविधा प्रवाह जनताले महशुस गर्ने खालको दिनका साथै टेबलमा फाइल थुपारेर मात्र राख्ने कार्यलाई अन्त्य गरेर सेवा प्रवाहलाई जवाफदेही बनाउनेतर्फ लाग्ने बताएका हुन् ।
‘सरकारले यतिबेला थुप्रै लगानी सहजिकरण र अहिलेको आर्थिक रुपमा रहेका जटिलताहरुलाई फुकाउन, आन्तरिक लगानी र बाह्य लगानी प्रवद्र्धन गर्न पनि हामीले नीतिगत रुपमा थुप्रै कानुनहरुलाई अध्यादेशबाट जारी गरेका छौं,’ उनले भने,‘अबको चालु अधिवेशनको प्रारम्भमा विचाराधिन कानुनहरु समयसिमाभित्र पारित गछौं । अबको सरकारको सेवा सुविधा प्रवाह जनताले महशुस गर्ने खालको होस् । टेबलमा फाइल थुपारेर मात्र राख्ने कार्यलाई अन्त्य गरेर सरकारले सेवा प्रवाहलाई जवाफदेही बनाउने काम गर्छ । आजका प्रकृयाहरुको जटिलतालाई अन्त्य गरेर चाँडो सेवा प्रवाहलाई हामीले प्राथमिकतामा राख्ने छौं ।’
त्यस्तै उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनी खाद्य व्यवस्थासँग मात्र अलि बढि केन्द्रीत भएको भन्दै व्यापारलाई पनि सँगै लैजानुपर्ने बताए । देशव्यापी रुपमा खाद्य व्यापार कम्पनिलाई आम उपभोक्ताले महशुस गर्नेगरी आफ्नो कार्यक्षेत्रलाई रफ्तारमा विस्तार गरेर सेवा डेलिभरीलाई अगाडि बढाउनुपर्ने उनको भनाई छ ।
उनले भने,‘खाद्य व्यवस्थासँग हामी अलि बढि केन्द्रीत भयौं, मलाई के लाग्छ भने यो एउटा व्यापार कम्पनी पनि हो । तपाईहरुले सबै पालिकाहरुसँग,स्थानीय तह र प्रदेशसँग पनि समन्वय गर्नुभएको छ । एउटा पालिकामा एउटा केन्द्र राख्ने गरी कार्यक्रम अगाडि बढाउन खोज्नुभएको छ । यसले देशव्यापी रुपमा सबै तहमा खाद्य व्यापार कम्पनिलाई अब आम उपभोक्ताले चिन्नेगरी महशुस गर्नेगरी आफ्नो कार्यक्षेत्रलाई रफ्तारमा विस्तार गरेर सेवा प्रवाहलाई डेलिभरीलाई अगाडि बढाउँनु पर्छ ।’
प्रतिक्रिया