Logo

कर्पोरेट

एलाइभ सहकारीको साधारण सभा सम्पन्न



काठमाडौं । एलाइभ वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औँ र १६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिका–२७ अशनमा केन्द्रीय कार्यालयको सहकारीले शनिबार आर्थिक वर्ष २०७९÷०८० र २०८०÷०८१ को वार्षिक साधारण सभा एकैसाथ सम्पन्न गरेको हो ।

संस्थाका उपाध्यक्ष दलबहादुर श्रेष्ठको सभापतित्वमा कार्यालय प्राङ्गणमै साधारण सभा सम्पन्न गरिएको संस्थाका प्रबन्ध निर्देशक उमेश खड्काले जानकारी दिए । उनका अनुसार साधारण सभामा सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति र संस्थाका प्रबन्ध निर्देशकका तर्फबाट विभिन्न प्रतिवेदनहरू पेश गरिएका थिए । ती सबै प्रतिवेदनहरू व्यापक छलफलपछि सर्वसम्मतरूपमा पारित गरिएको छ ।

संस्थाले आर्थिक वर्ष २०७९÷०८० मा ७६ लाख ७४ हजार र आर्थिक वर्ष २०८०÷०८१ म २ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको जानकारी साधारण सभामा दिइयो । त्यस्तै, आर्थिक वर्ष २०८०÷०८१ को अन्त्यसम्ममा संस्थाको शेयरपूँजी चार करोड ४२ लाख ५१ हजार रुपैयाँ कायम भएको छ ।

संस्थाभित्रको केही आन्तरिक समस्याका कारण गत आर्थिक वर्षको साधारण सभा समयमै हुन नसकेकाले दुईवटै आर्थिक वर्षको साधारण सभा एकैपटक आज सम्पन्न गरिएको संस्थाका उपाध्यक्ष दलबहादुर श्रेष्ठले जानकारी दिए । ‘केही वर्षयता सहकारीप्रति आमरूपमा देखिएको समस्याका कारण एलाइभ बचत तथा ऋण सहकारी संस्थामा पनि केही समस्या उत्पन्न हुनपुग्यो । त्यसकारण हामीले समयमै साधारण सभा गर्न सकेका थिएनौँ,’ उपाध्यक्ष श्रेष्ठले भने । यसबीचमा संस्थाभित्र जेजस्ता समस्या आए पनि अहिलेसम्म संस्थालाई निरन्तरता दिइँदै आएको र आगामी दिनमा थप सुधार गर्दै अघि बढ्ने प्रतिबद्धता उपाध्यक्ष श्रेष्ठको छ ।

संस्थाका प्रबन्ध निर्देशक उमेश खड्काले संस्था र संस्थाका जिम्मेवार व्यक्तिहरू बचतकर्ताको बचत रकमको सुरक्षा र संस्थाको स्थायित्वका निम्ति चिन्तित रहेको बताउनुहुँदै सहकारीको मूल्यमान्यता र सिद्धान्तका आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । संस्थाभित्रको आन्तरिक समस्या समाधान हुँदै गएको जानकारी दिँदै उनले ढुक्क भएर एलाइभ वचत तथा ऋण सहकारीमा रकम जम्मा गर्न सदस्यहरूलाई अपिल समेत गरे ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ५५ बजे