काठमाडौं । जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली नागरिकता प्रमाणत्रको अनलाइन शिफारिस लिन सुरु गरेको छ ।
कार्यालयले आइतबारबाट मन्थली नगरपालिका–८ चिसापानीबाट सो सिफारिस सुरु गरेको हो । नेपाली नागरिकता विवरण सम्बन्धी कार्य तथा अभिलेख व्यवस्थापनलाई थप व्यवस्थित एवम् प्रविधिमा आधारित बनाउने उद्देश्य अनुरुप सो कार्य सुरु गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए ।
गृह मन्त्रालयबाट नागरिकता सूचना व्यवस्थापन प्रणालीको एक्सटरनल मोड्युल प्रयोग गरी जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्र जारी गर्न स्थानीय तह अन्तर्गतका वडाहरुबाट अनलाइन सिफारिस गर्ने व्यवस्था कार्यान्वयनको क्रममा चिसापानीबाट सो कार्यको सुरुवात गरिएको उनले बताए ।
मन्थली नगरपालिका–८ का विवेक खत्रीले वडा कार्यालयबाट अनलाइन प्रणाली मार्फत नागरिकताको सिफारिस भइ आइतबार पहिलो नागरिकता प्राप्त गरेका छन् ।
अब क्रमश सबै स्थानीय तहका वडाहरुबाट सोही प्रणाली मार्फत नागरिकताको सिफारिस गर्ने कार्य सुरु हुने पनि उनले जानकारी दिए ।
प्रतिक्रिया