काठमाडौं । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्ने बताएकी छन् ।
मंगलबार वार्षिक लक्ष्य, लक्ष्यमा पुग्न विभागहरुले अहिलेसम्म सम्पादन गरेका काम र यसबाट प्राप्त नतिजाका विषयमा जानकारी लिँदै उनले काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकटबाट केवल कानुनले मात्र बचाउन सक्ने भन्दै कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र प्रतिवद्ध हुनुपर्ने बताइन् ।
उनले भनिन्, ‘दायित्व निर्वाह गर्ने क्रममा नियत सफा राखेर काम गर्नुपर्छ । यो कर्मचारीको धर्म हो । काम गर्दै जाँदा परिस्थितिजन्य प्रशासनिक संकट आउन सक्छ । यो संकटबाट केवल कानुनले मात्र बचाउन सक्छ । यसकारण तपाईँहरु कानुनी व्यवस्थाप्रति पूर्ण इमान्दार र प्रतिवद्ध हुनुपर्छ ।’
उनले, स्वीकृत नीति, बजेट तथा कार्यक्रमले निर्धारण गरेको लक्ष्य प्राप्त गर्न स्वतःस्फूर्त उत्प्रेरित हुन प्रोत्साहन गर्दै आपसी सहयोग र सद्भाव कायम राख्न आग्रह पनि गरेकी छन् ।
सोही क्रममा विभागीय प्रमुखहरुले विभाग स्तरीय कार्यक्रमबाट प्राप्त उपलब्धीसँगै आगामी कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।
नगर सभाको १५ औँ अधिवेशनबाट चालु आर्थिक वर्षका लागि २५ अरब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको छ । विनियोजित यो रकममध्ये अहिलेसम्म ४ अरब १८ करोड ८६ लाख रुपैयाँ खर्च भएको आर्थिक प्रशासन प्रमुख श्याम न्यौपानेले जानकारी दिनुभयो । यो १६.८१ प्रतिशत हो ।
यस वर्ष आयतर्फ १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ लक्ष्यमध्ये आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अरब ३ करोड ५७ लाख रुपैयाँ रहेको छ । राजस्व विभागका प्रमुख दिपक अधिकारीका अनुसार अहिलेसम्म ४ अरब ८४ करोड ७२ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।
प्रतिक्रिया