काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा आगामी आर्थिक वर्षमा १८ हजार बृक्षारोपण गर्ने घोषणा गरेको छ। बैंकले यो कार्यक्रम आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सञ्चालन गर्ने बताएको छ।
बैंकले आज पौष १८ गते आफ्ना संस्थापक वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ। बैंकले आगामी वर्षभरि देशभरका विभिन्न स्थानमा स्थानीय संघ र संस्थासँग सहकार्य गर्दै १८ हजार बृक्षारोपण गर्ने योजना बनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले आज अनामनगरस्थित बैंकको कार्यालय परिसरमा बृक्षारोपण कार्यक्रमको शुभारम्भ गरे। रेग्मीले यो अभियानलाई आगामी वर्षभरि निरन्तरता दिइ १८ हजार बिरुवा रोपिने जानकारी दिएका छन्। उनले भने, “रुखविरुवा प्रकृति संरक्षणको महत्त्वपूर्ण पाटो हो, जसले वातावरणीय सन्तुलन कायम गर्न, हरियाली जोगाउन, पहिरो रोक्न र पानीको श्रोत जोगाउन मद्दत पुर्याउँछ।”
कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र अन्य उच्च व्यवस्थापनका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंक, जसले हाल नेपालका ७७ जिल्लामा ३५५ शाखा र १,१०० भन्दा बढी सेवा केन्द्रहरूबाट सेवा प्रदान गर्दै आएको छ, विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित भएको छ। यसले हालै ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड २०२४” र युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत “नेपालको सर्वश्रेष्ठ बैंक” को खिताब जितेको छ।
यस बैंकले विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ र नेपालमा बैंकिङ्ग सेवाका साथै विदेशबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ।
प्रतिक्रिया