काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालको पर्यटन र कृषि क्षेत्रको लागि चीनको विशेषज्ञता तथा सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।
मंगलबार काठमाडौंमा बीआरआई फ्रेमवर्कमार्फत नेपालको पर्यटन र कृषिलाई अगाडि बढाउनको लागि आयोजित कार्यक्रममा उनले सरकारले कृषिलाई आधुनिकिकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा परिवर्तन गर्ने लक्ष्यहरु राखेको भन्दै त्यसको लागि चीनको सहयोग र साथको अपेक्षा आफंैमा महत्वपूर्ण रहेको बताए ।
उनले भने, ‘नेपालमा खासगरि कृषि र पर्यटनको क्षेत्रमा लगानीको एकदमै धेरै सम्भावना छ । त्यसकारण चीनको विशेषज्ञता तथा सहयोग यस क्षेत्रको विकासको लागि महत्वपूर्ण रहनेछ । सरकारले कृषिलाई आधुनिकिकरण गर्ने जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा परिवर्तन गर्ने, पूर्वाधारको विकासलाई तिव्रता दिने, पर्यटन सम्भावनालाई साकार पार्ने र ती क्षेत्रका सबैका लागि जनशक्तिको विकास गर्ने लक्ष्य राखेका छौ । यसका लागि मित्र राष्ट्र चीनको सहयोग र साथको अपेक्षा गर्नु आफैमा महत्वपूर्ण रहेको छ ।’
नेपाल र चीनबीच भौगोलिक एंव राजनीतिक सम्बन्धको साथै व्यापारको सम्बन्ध पनि राम्रो रहेको पनि उनको भनाई छ ।
नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालय र चीन सरकारको तर्फबाट कृषि तथा ग्रामिण विकास मन्त्रालयबीच कृषि, पशुपन्छी तथा माछा पालनको क्षेत्रको समझदारी पत्रमा २५ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो ।
सोही मितिमा नेपालबाट औषधीजन्य बनस्पती निर्यात गर्नका लागि यस मन्त्रालय र जनवादी गणतन्त्र चीनको भन्सार प्रशासनबीच हस्ताक्षर भएको थियो । यसको साथै नेपाल र चीनबीच थुप्रै समझदारीमा हस्ताक्षर भएको छ ।
प्रतिक्रिया