काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले २८ हजार ५०० मेगावाट विद्युत उत्पादनका लागि ६५ खर्ब रुपैयाँको लगानी आवश्यक पर्ने र उक्त रकमको ४० खर्ब स्वदेशमै रहने बताएका छन्। उनले यो कुरा शुक्रबार लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै बताएका हुन्।
अध्यक्ष कार्कीले आगामी १० वर्षभित्र नेपालमा हाइड्रोपावर र स्वदेशी उत्पादन सिमेन्ट डन्डी जस्ता उद्योगको निर्माणले ४० खर्ब रुपैयाँ खर्च हुने र यसले नेपालको अर्थतन्त्रलाई उच्च बनाउन मद्दत गर्ने धारणा व्यक्त गरे। उनले नेपालको ऊर्जा क्षेत्रको भविष्य उज्ज्वल रहेको भन्दै नेपालको अन्तरदेशीय विद्युत व्यापारको इतिहासमा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ४०० मेगावाट भारत निर्यात सम्झौताबाट शुरू भएको थियो। त्यसपछि, पूर्व प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) को पालामा १० हजार मेगावाट निर्यातको दीर्घकालीन सम्झौता र हाल बंगलादेशमा ४० मेगावाट निर्यात सुरु भएको थियो। अहिले १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८,५०० मेगावाटको मार्गचित्र अघि बढ्दै गर्दा नेपालको ऊर्जा क्षेत्रको भविष्य थप सन्देश दिने गरेको उनले बताए।
प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जा मन्त्री दीपक खड्कासहितको मन्त्रिपरिषद्को सकारात्मक कदमलाई स्वागत गर्दै कार्कीले भने, “ऊर्जा क्षेत्रको विकास नभए नेपालमा कहिल्यै यो क्षेत्रको विकास हुने छैन।”
कर्कीले २८,५०० मेगावाटको मार्गचित्रको अनुमोदन गरिएको र यसले फरक सन्देश दिएको बताएका छन्। उनले भने, “तर विद्युत विधेयक वर्तमान लक्ष्यसँग मेल खाँदैन, त्यसलाई संशोधन गरेर मात्र पास गर्नुपर्ने छ।”
अध्यक्ष कार्कीले थपे, “२८,५०० मेगावाटका लागि ६६ खर्ब रुपैयाँ आवश्यक छ। सरकारले सहज नीति बनाइदिने हो भने निजी क्षेत्र लक्ष्य पुरा गर्न तयार छ।” उनले सरकारलाई सुझाव दिए कि ऊर्जा मन्त्रालयलाई सशक्त बनाएर वन र वातावरणका मुद्दा पनि त्यहाँबाट समाधान गर्नुपर्ने आवश्यकता छ।
कर्कीले १८ महिनादेखि ४१ जलविद्युत आयोजनाको सार्वजनिक निष्कासन प्रक्रिया रोकिएको बारेमा पनि उल्लेख गर्दै भने, “यदि बैङ्कले पैसा नदिने र इक्विटी ल्याउने सार्वजनिक निष्कासन रोक्ने हो भने आयोजना बन्न नसक्ने छ।” यसमा ऊर्जा मन्त्रीको निर्देशनको आवश्यकता रहेको उनले भने।
दानाखोला जलविद्युत आयोजना भनेको नेपालका ४–५ वटा राम्रा जलविद्युत आयोजनामा एक हो र यसलाई समयमै सम्पन्न गर्न शुभकामना व्यक्त गर्दै कार्कीले २० वटा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न बैंक र वित्तीय संस्थाहरूलाई धन्यवाद दिएका छन्।
लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहन कुमार डाँगीले भने, “पानीलाई बत्तीमा रूपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने हो, त्यसैले हामीलाई असफल हुने छुट छैन।”
यस आयोजनामा ९ अर्ब ९६ करोड रुपैयाँको लगानी सुनिश्चित भएको छ। यसमा ७४ करोड रुपैयाँ स्थानीयमा शेयर जारी गरेर, १ अर्ब ७४ करोड रुपैयाँ सञ्चालकबाट र बाँकी रकम बैंकबाट ऋणको रूपमा लगानी हुनेछ। यो आयोजना मनाङको नासो गाउँपालिकामा विकास हुनेछ।
प्रतिक्रिया