काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ। यस वर्षको वार्षिकोत्सव पौष १८ गते विहीबार मनाइरहेका ग्लोबल आइएमई बैंकले १९औँ वर्षमा प्रवेश गरेको छ।
यस अवसरमा, बैंकले देशभरका सातवटै प्रदेशमा रक्तदान, निशुल्क आँखा जाँच, रक्तचाप र मधुमेह परीक्षणका कार्यक्रम सञ्चालन गरेको हो। कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशका कान्तिपथ र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा, नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा यी कार्यक्रम सम्पन्न भएका छन्।
यस कार्यक्रममा ७५७ रक्तदाताले रक्तदान गरेका छन्। साथै, ११९ जनाको आँखा जाँच र २०० जनाको रक्तचाप तथा मधुमेह परीक्षण गरिएको छ र आवश्यक परामर्श प्रदान गरिएको छ।
ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको रूपमा यस्ता समाजोपयोगी कार्यहरू मार्फत आम जनतालाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्य राखेको छ।
बैंकले २०२४ मा ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड र युरो मनी अर्वाड फर एक्सलेन्सबाट नेपालका सर्वश्रेष्ठ बैंकको रुपमा सम्मान प्राप्त गरेको छ। यसैगरी, बैंक विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबाट विभिन्न पुरस्कार प्राप्त गर्दै आएको छ।
ग्लोबल आइएमई बैंक नेपालको ७७ जिल्लामा शाखा सञ्जाल रहेको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक हो। यसका ३५५ शाखा, ३८४ एटीएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन र राजश्व संकलन काउन्टरसहित १,१०० भन्दा बढी सेवा केन्द्रहरूमा ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। बैंकले नेपाली नागरिकलाई बैंकिङ सेवासँगै अन्तर्राष्ट्रिय रेमिट्यान्स सेवा पनि उपलब्ध गराउँदै आएको छ।
प्रतिक्रिया