Logo

कर्पोरेट

ग्लोबल आइएमई बैंकद्वारा ‘मेरी उनीलाई स्वस्थ नारी’ पहलअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन



काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा ‘मेरी उनीलाई स्वस्थ नारी’ पहल अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा निःशुल्क महिला स्वास्थ्य शिविर आयोजना गर्न लागेको हो।

बैंक आगामी १८ गते, बिहीबारदेखि १९औं वर्षमा प्रवेश गर्दैछ र यसै अवसरमा उक्त अभियान सञ्चालन गर्दै छ। स्वास्थ्य शिविरमा स्त्रीरोग विज्ञहरूले महिलाका लागि स्वास्थ्य परिक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार, औषधि वितरणलगायतका निःशुल्क सेवाहरू उपलब्ध गराउनेछन्।

यस शिविरको मुख्य उद्देश्य पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षणहरूको पहिचान र गम्भीर बिरामीहरूको उपचार गर्ने हो। शिविरहरूको दोस्रो चरणमा शल्यक्रियासम्मको उपचार प्रदान गरिने छ।

निःशुल्क स्वास्थ्य शिविरहरू बागमती प्रदेशको हेटौंडा, मधेश प्रदेशको कलौया, गण्डकी प्रदेशको मोदी गाउँपालिका, कोशी प्रदेशको विराटनगर, लुम्बिनी प्रदेशको शैनामैना, कर्णाली प्रदेशको विरेन्द्रनगर, र सुदूरपश्चिम प्रदेशको गोदावरी नगरपालिका क्षेत्रमा सञ्चालन हुनेछन्।

ग्लोबल आइएमई बैंकले यसको स्थापनाकालदेखि संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै ग्रामीण भेगका महिला र आम नागरिकलाई स्वास्थ्य सेवाहरू उपलब्ध गराउँदै आएको छ।

बैंकले हाल नेपालका ७७ जिल्ला र १,१०० भन्दा बढी सेवा केन्द्रहरू मार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ। २०२४ मा ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ र युरो मनी ‘अर्वाड फर एक्सलेन्स’ मा सम्मानित बैंकका रूपमा ख्याति प्राप्त गरेको छ।

बैंकले विभिन्न देशहरूबाट रेमिट्यान्स सेवासमेत प्रदान गर्दै नेपाली नागरिकहरूको सुविधा सुनिश्चित गर्दै आएको छ।

प्रकाशित मिति : १७ पुस २०८१, बुधबार  ११ : ३६ बजे