काठमाडौं । सल्लेरी बजार क्षेत्रमा चिसो बढ्दै गएपछि जिल्ला प्रशासनले आगो ताप्ने व्यवस्था मिलाएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार, सोमबारदेखि सल्लेरीका विभिन्न स्थानमा दाउरा उपलब्ध गराई आगो ताप्ने स्थान निर्माण गरिएको हो।
प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेका अनुसार, चिसोको जोखिमबाट बालबालिका, वृद्धवृद्धा र कमजोर वर्गका नागरिकलाई जोगाउन र समुदायमा सचेतना अभिवृद्धि गर्न यो पहल गरिएको हो। उनले भने, “चिसो बढ्दो छ र नागरिकलाई निकै गाह्रो भइरहेको छ, त्यसैले चिसोबाट जोगिन आगो ताप्ने व्यवस्था मिलाइएको हो।”
डिभिजन वन कार्यालयसँगको समन्वयमा सल्लेरी, फाप्लु, आडाँडा, नयाँ बजारलगायत प्रमुख स्थानहरूमा दाउरासहित व्यवस्थित आगो ताप्ने स्थान बनाइएका छन्। प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जनाएअनुसार, “वन कार्यालयले दाउरा उपलब्ध गराएको छ र यो कार्य निरन्तर जारी रहनेछ।”
सुरक्षित र सहज आगो ताप्ने स्थानहरूको व्यवस्थापन गर्दा चिसोबाट प्रभावित नागरिकलाई प्रत्यक्ष राहत मिल्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया