रामेछाप । रामेछापको मन्थली नगरपालिकाले सो नगरपालिकाका किसानलाई व्यवसायीक बनाउनको लागि उत्प्रेरित गर्न नगरपालिका स्तरीय कृषि तथा लघुउद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी मेला पुस १६ र १७ गते गर्न लागिएको कार्यालयले जानकारी दिएको छ । हालसम्म नगरपालिकाले कृषि र लघुउद्यम क्षेत्रमा गरेको लगानीको प्रतिफल हेरी आगामी लगानीका क्षेत्र पहिचान गर्न सो प्रदर्शनीले सहयोग गर्ने अपेक्षा राखिएको नगरपालिका प्रमुख लब श्रेष्ठले जानकारी दिए ।
मन्थली नगरपालिकाका शाखा अधिकृत गोविन्द कट्टेलका अनुसार प्रदर्शनीमा बाली तर्फ तरकारी, फलफूल, रैथानेबाली, दलहन, मौरीजन्य, चिया, कफी, मसलाजन्य, कन्दमूल, नर्सरी लगायत राखिने छ । त्यस्तै पशुपन्छी तर्फ खसी, बोका, अण्डा लगायत प्रदर्शनीमा राखिने भएका छन् ।
दूध जन्यमा डेरीका विभिन्न परिकारहरू प्रदर्शनीमा राखिने आयोजकले जानकारी दिएको छ । लघुउद्यम तर्फ बेकरी, होजियारी, ढाका, जुत्ता, कपडा, दुना, टपरी, हस्तकला, बाँसजन्य, साबुन, आलुचिप्स लगायतका सामाग्री प्रदर्शनी राखिने उनले बताए ।
जिल्ला समन्वय समितिको मैदानमा आयोजना गरिने प्रदर्शनीमा किसानहरूलाई निःशुल्क रूपमा स्टल उपलब्ध गराइने भएको छ । त्यस्तै प्रदर्शनीमा आउने किसान र ल्याउने सामाग्रीको यातायात भाडा तथा प्रदर्शनीमा बस्नेलाई प्रतिस्टल एक जनाको दरले खाना र आवास खर्च समेत नगरपालिकाले नै उपलब्ध गराउने भएको छ ।
प्रदर्शनीका लागि ५० वटा भन्दा बढी स्टल निर्माण भइसकेका पनि कट्टेलले बताए । प्रदर्शनीमा १२ लाख रुपैँया खर्च हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया