Logo

कर्पोरेट

कैलालीको चिसापानीमा आईएमई समूहको लगानीमा  जालपादेवी केवलकार निर्माणको शिलान्यास



काठमाडौं । आईएमई समूहको लगानीमा कैलाली जिल्लाको कर्णाली चिसापानीमा जालपादेवी केवलकार निर्माणको शिलान्यास आज गरिएको छ। 

परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले शनिबार लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा आयोजित विशेष समारोहमा ३.१ किलोमिटर लामो केवलकार परियोजनाको शिलान्यास गरेकि हुन्। यस अवसरमा मन्तव्य व्यक्त गर्दै मन्त्री डा. राणा देउवाले जालपादेवी केवलकारको निर्माणले सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “सुदूरपश्चिम प्रदेशमा पर्यटन, संस्कृति र जैविक विविधतामा ठूलो सम्भावना छ र यस परियोजनाले यहाँको समृद्धिमा ठूलो भूमिका खेल्नेछ।”

केवलकार परियोजनाको समग्र विकासलाई समयमै सम्पन्न गर्नका लागि सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको आव्हान गर्दै उनले निजी क्षेत्रलाई यस क्षेत्रमा थप लगानी गर्न आग्रह गरिन् । “आइएमई समूहको दक्षता र अनुभवका साथ यो परियोजना समयमै सम्पन्न हुने छ,” उनले थपिन् ।

वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले पनि कार्यक्रमलाई सम्बोधन गर्दै केबलकार परियोजना र अन्य पूर्वाधारको विकासले सुदूरपश्चिम प्रदेशको समग्र विकासमा ठूलो योगदान गर्ने बताए। उनले निजी क्षेत्रलाई पश्चिमी नेपालमा थप लगानी गर्न आग्रह गरे।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यस परियोजनाले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे। “प्रदेश सरकारले आगामी विकास र लगानीका परियोजनालाई हर सम्भव सहयोग दिनेछ,” उनले भने।

जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने, “पर्यटन पूर्वाधारमा लगानी गर्ने मात्रले नेपाललाई आर्थिक, सांस्कृतिक र सामाजिक रूपले कायापलट गर्न सकिन्छ।” उनले पर्यटनलाई सुदृढ गर्न स्थानीय समुदाय, राजनीतिक दल र सरकारी निकायहरूको सहयोग महत्वपूर्ण भएको जोड दिएका छन्।

केबलकार परियोजना ३.१ किलोमिटर लामो हुनेछ र यसमा ३४ वटा गोन्डोला रहनेछन्। परियोजनामा कुल पाँच अर्ब रुपैयाँको लगानी हुनेछ। बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल जस्ता सुविधाहरू उपलब्ध हुनेछ भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, रेष्टुरेन्ट, चिल्डे«न पार्क र अन्य पर्यटकीय सुविधाहरू निर्माण गरिने छन्।

प्रकाशित मिति : १४ पुस २०८१, आइतबार  १२ : १९ बजे