काठमाडौँ । बौद्ध धर्म अन्तर्गत द्रुकप सम्प्रदायका नेपाली कङ फू ननहरूले आफ्नो मठ, द्रुक अमिताभ मठ सात वर्षपछि सर्वसाधारणका लागि पुनः खुला गरेका छन् ।
शनिवारबाट कोरोना महामारीपछिको पहिलो पटक सर्वसाधारणका लागि खुलेको मठमा २०२४ डिसेम्बर २८ देखि २०२५ जनवरी १ सम्म १०औँ वार्षिक द्रुकपा काउन्सिलको कार्यक्रम आयोजना भइरहेको छ ।
काउन्सिलमा गहन शिक्षा, प्रेरणादायक प्रवचनहरू र मानवीय विषयमा छलफलहरू प्रस्तुत गरिँदैछ । यस वर्ष महिला नेतृत्वमा ऐतिहासिक कदमका रुपमा वन्दनीय जिग्मे येशी ल्हास्की काउन्सिलको सह–नेतृत्व गर्नेछिन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले द्रुकपा परम्पराले हरित अभियान र प्राकृतिक स्रोतहरूको दिगो प्रयोगमा गरेको योगदान प्रशंसनीय रहेको बताए ।
उनले भने, ‘विशेषगरी जलवायु परिवर्तन र वातावरणीय संकटको चुनौतीपूर्ण समयमा द्रुकपा परम्पराले देखाएको हरित अभियान र प्राकृतिक स्रोतहरुको दिगो प्रयोग सम्बन्धि योगदान अत्यन्त प्रशसनीय छ । यस्ता प्रयासहरुले विश्वभरी सकारात्मक प्रभाव पारेको छ । नेपाल जस्तो हिमाली देशका लागि यस्तो अभियानले विशेष महत्व राख्छ ।’
द्रुकपा काउन्सिलमा कङ फू ननहरू मुख्य भूमिकामा प्रस्तुत हुँदैछन् । उनीहरूले आफ्नो कङ फू प्रदर्शन र पवित्र ड्रम अनुष्ठान प्रस्तुत गर्नेछन् । कार्यक्रममा प्रमुख वक्ताहरूका रूपमा कङ फू ननहरूको प्रमुख लोपेन जिग्मे तिङदजिन र लोपेन जिग्मे सम्तेन पाल्मो सहभागी छन् । जिग्मे तिङदजिनका प्रवचन गम्भीर, हृदयस्पर्शी हुने जनाइएको छ ।
द्रुकपा सम्प्रदायको उत्पत्ति एकहजार वर्षअघि भारतीय साधु नारोपाबाट भएको मानिन्छ । द्रुकपा गुरु ग्यालवाङ द्रुकपाको प्रेरणामा ननहरूले आत्मविश्वास र शक्ति निर्माणका लागि कूङ फू सिक्न थालेका हुन् ।
प्रतिक्रिया