काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उक्त बैंकको शेयर कारोबार रोक्का गरेको छ। बुधवार नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले बैंकलाई समस्याग्रस्त घोषित गर्दै यसको कारोबार रोक्ने निर्णय गरेको हो।
नेप्सेले बिहीवारदेखि कर्णाली डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का गरिएको पुष्टि गरेको छ। बैंकको शेयरको अन्तिम कारोबार मूल्य ८१० रुपैयाँ थियो र पुस ९ गते बैंकका ९२,३३२ कित्ता शेयर कारोबार भएका थिए।
यसअघि, एक महिनाअगाडि राष्ट्र बैंकले बैंकलाई शीघ्र सुधारात्मक कारवाही गरेको थियो, तर सुधार नभएपछि अब यसको व्यवस्थापन नियन्त्रणमा लिइएको छ। राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकमा पूँजीकोष अनुपात नपुगेको, निष्क्रिय कर्जा अनुपात ४० दशमलव ८५ प्रतिशत पुगेको र कमजोर तरलता स्थितिका कारण संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसकेको जनाएको छ।
राष्ट्र बैंकले बैंकको व्यवस्थापन नियन्त्रणमा लिन तीन सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ, जसको संयोजकमा टीकाराम खतिवडा छन्। समितिलाई बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, वित्तीय अपचलनको छानबिन र कानूनी कारबाही अघि बढाउने अख्तियारी दिइएको छ।
राष्ट्र बैंकको निर्णयअनुसार व्यवस्थापन समिति बैंकको सञ्चालनको जिम्मेवारी बिहीवारदेखि सम्हाल्दै कानूनी प्रावधानअनुसार संस्थाको विशेष साधारणसभा र सञ्चालक समितिको कार्य सञ्चालन गर्नेछ।
प्रतिक्रिया