काठमाडौं । कजाकिस्तानमा बुधबार दुर्घटना भएको विमानमा सवार ६७ यात्रुमध्ये २५ जनालाई जिवितै उद्धार गरिएको छ।
कजाकिस्तानको आपत्कालीन मन्त्रालयका अनुसार उद्धार गरिएका २२ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
अजरबैजानबाट ६७ यात्रु बोकेर दक्षिणी रुसको लागि उडेको विमान कजाकिस्तानको अक्ताउ नजिक दुर्घटनामा परेको थियो। उक्त विमान अजरबैजान एयरलाइन्सको उडान ‘जे२–८२४३’ नं. को थियो, जसले राजधानी बाकुबाट रूसी क्षेत्र चेचन्याको ग्रोज्नीका लागि उडान भरेको थियो।
विमानले अक्ताउबाट करिब तीन किलोमिटर (९१.८ माइल) पर आपत्कालीन अवतरण गर्ने प्रयास गर्दा दुर्घटना भएको थियो। घटनास्थलमा पुगेको उद्धार टोलीले विमानलाई आगो लागेको अवस्थामा फेला पारेको जानकारी दिएको छ।
कजाकिस्तानको यातायात मन्त्रालयका अनुसार विमानमा ६२ यात्रु र ५ चालक दलका सदस्य सवार थिए। प्रारम्भिक तथ्यांकअनुसार विमानमा रहेका यात्रुमध्ये ३७ जना अजरबैजानका, ६ जना कजाकिस्तानका, ३ जना किर्गिस्तानका र १६ जना रुसका नागरिक रहेका थिए।
प्रतिक्रिया