Logo

समाचार

निर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई पत्रकार मञ्चको सम्मान



काठमाडौं ।  नेपाल पत्रकार मञ्चमा आबद्ध भइ नेपाल पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी एवम सदस्यहरुलाई सम्मान गरिएको छ ।

आइतबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गर्दै मञ्चले निर्वाचित मञ्चका सदस्यहरुलाई बधाई तथा सम्मान गरेको  हो ।

सम्मान कार्यक्रममा बोल्दै मञ्चका अध्यक्ष युवराज विद्रोहीले निर्वाचित सदस्यहरुले हरेक व्यक्तिको लागि न्याय गर्नुपर्ने बताएका छन् । उनले हरेक सदस्यहरुले पत्रकारको हकहितका लागि राम्रो काम गर्दै जानुपर्ने बताए ।

उनले भने, ‘बाटोमा हिँड्दाखेरी ठक्कर धेरै नै खाइन्छ । लागेको ठक्करबाट नै हामीले बचेर हिड्नुपर्छ भनेर पाठ सिकाउँछ ।  तीन वर्ष अगाडि नराम्रो  स्वाद भोगेका छौं । तर अहिले निर्वाचन भएर केही हलसम्म राहत पाएका छौं । तर चुनाव जितिसकेपछि मञ्चको मात्र सदस्य नभएर १० वटा एसोसिएट प्रदेशको नेतृत्वकर्ता हो । सदस्यहरुले कसैलाई पनि भेदभाव नगरी सामूहिक रुपमा न्याय गर्नुपर्ने छ । सदस्यहरुले पत्रकारहरुको हकहितका लागि राम्रो काम गर्दै जानुपर्छ ।’

साथै उनले पत्रकार महासंघ सबै पत्रकारको मन्दिर भएको बताए । उनले मन्दिर जस्तो  ठाउँमा पुगिसकेपछि काखा र पाखा गर्न नहुने बताए ।

कार्यक्रममा अग्रज पत्रकार अस्मिता भण्डारीले व्याप्त लैङ्गिक हिंसा, असमानताहरुलाई चिर्दै अगाडि बढ्नका लागि पत्रकारहरुको कलम सधैं बलियो रहनुपर्ने बताइन् ।

साथै नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेशका अध्यक्ष रोयल आचार्यले हामीहरुले गर्नुपर्ने धेरै चुनौतिहरु सामना गर्न अब अघि बढेको बताएका छन् । उनले अबको तीन वर्षको अवधिभर नेपाल पत्रकार मञ्चको मागनिर्देशन बमोजिम काम गर्ने प्रतिवद्घता व्यक्त गरेका छन् ।

उनले भने, ‘म महासचिव हुँदा जे जति काम गरे आज अध्यक्ष हुँदा धेरै चुनौतिहरु थपेको छ ।  सबैभन्दा बढि काम गनुपर्ने छ । यहाँ अब पत्रकारको क्षेत्रमा धेरै काम हुन्छ ।  अबको तीन वर्षको समय अवधिमा नेपाल पत्रकार मञ्चले मागनिर्देशन गरे बमोजिम काम गर्ने समेत यतैबाट  प्रतिबद्घता जनाउन चाहन्छु ।’

 

प्रकाशित मिति : ७ पुस २०८१, आइतबार  ४ : ४१ बजे