नेपालमा लग्जरी होटल नभएका होइनन् । वितेको पाँच वर्षको अवधिमा ब्राण्ड होटलहरु संचालनमा आएका छन् । हिल्टन त्यसको उदाहरण हो । अब चाँडै अन्नपूर्ण स्क्वायर आउँदैछ । अरुपनि खुल्नेक्रममा छन् ।
अन्जन बगाले
जनरल म्यानेजर
अन्नपूर्ण ग्रुपअफ होटल
अन्जन बगाले हस्पिटालिटी क्षेत्रको परिचित नाम हो । पर्यटन क्षेत्रको मेरुदण्ड मानिने हस्पिटालिटी व्यवस्थापनमा अब्बल उनी ऐतिहासिक पाँचतारे होटल डेल अन्नपूर्ण(हालअन्नपूर्ण स्क्वायरका रुपमा रुपान्तरण हुँदै)संचालन गर्ने व्यवसायिक समूह अन्नपूर्ण ग्रुपअफ होटलका जनरल म्यानेजरका रुपमा कार्यरत छन् । नेपालको पर्यटनको अवस्था र पर्यटन क्षेत्रको विकासमा होटलहरुको भूमिकालगायतका विषयमा नेपाल न्यूज बैंकले कुराकानी गरेको छ ।
नेपालको पर्यटनको हालको अवस्थालाई कसरी हेरिरहनु भएको छ ?
नेपालको पर्यटनको अवस्थालाई हेर्दा सर्वोच्च शिखर सगरमाथाका प्रथम आरोही एडमन्ट हिलारीको समयदेखि हालसम्मको अवस्थालाई मूल्यांकन गर्नुपर्छ । सगरमाथा पत्ता लगाएपछि पर्यटकका लागि जुन फोकस थियो त्यो मात्र नभएर अहिले वाइडलाइफ टुरिज्म, र्याफटिङ, हाइकिङलगायत विभिन्न विधाहरुको विकास भएको हेर्दा पर्यटनको अवस्था उज्वल छ भन्ने स्पष्ट नै छ । पर्यटन क्षेत्रको विकासका लागि होटलसँगै एयरलाइन्सको समेत ठूलो भूमिका हुनेगर्छ । त्यसैले पर्यटनलाई एउटा विधा वा क्षेत्रलाई मात्र हेरेर मूल्यांकन गरिनु हुँदैन् ।
अर्को कुरा भनेको विदेशबाट पर्यटक भित्र्याउने जुन मेकानिजम छ त्यो चाँही अहिले सुस्ताएको छ । संस्थागत रुपमा काम हुन सकिरहेको छैन् । सरकारी स्वामित्वमा रहेका संस्थाहरुको भूमिका त्यति प्रभावकारी देखिएको छैन् । पर्यटन प्रवद्र्घनका लागि खुलेका संस्थाहरुमा राजनीतिकरण भएको पाइन्छ । पर्यटनको क्षेत्रमा काम गर्ने मान्छेहरुको निकै कमी देखिन्छ । अघिल्लो वर्ष टुरिजम बोर्ड जस्ता संस्थाहरुले डब्लुटिएमजस्ता गरिमामय स्टेजमा नेपाललाई देखाउन सकेनौं ।
त्यसले नेपालको पर्यटनलाई केही असर पारेको छ । एयरलाइन्सको भूमिका हेर्दाखेरी नेपाल एयरलाइन्स अवस्था नाजुक देखियो । सुरक्षाको दृष्टिकोणबाट मार्केटमा एयरलाइन्सका बारेमा नकरात्मक छाप परेको छ । बाढी पहिरोले पनि पर्यटन क्षेत्रमा असर पारेको छ । हाम्रा सडक पूर्वाधारहरु लाज लाग्ने अवस्थाका छन् । दुर्घटना धेरै निम्त्याइरहेको छ । कयौंको ज्यान पनि गइरहेको छ । भारतीय तिर्थयात्री बोकेको बस नदीमा खसेको भर्खरै मात्र हो । वर्षैपिच्छे जहाज दुर्घटनाको दुखद खबरले अन्तर्राष्ट्रिय मिडियाहरुमा र विदेशी बजारमा नराम्रो छाप पारेको छ । यि विविध कुरालाई हेर्दा पर्यटन क्षेत्रमा प्रशस्त समस्याहरु देखिएका छन् । यसलाई व्यवस्थापन गर्नु हाम्रो मूल दायित्व हुनुपर्छ ।
पर्यटक भित्र्याउने सरकारले जुन लक्ष्य लिइएको थियो त्यो पूरा भएको देखिन्छ । यस हिसाबले त पर्यटनको अवस्थामा सुधार देखिएको होइन र ?
आजभन्दा १० वर्ष अगाडि जे अवस्था थियो अहिले त्यस्तै छ । होटलको रेट पनि १० वर्ष अगाडि जे थियो त्यहीँ छ । डलरको कन्भर्सनले हेर्दाखेरी अलिकति वृद्घि भएको जस्तो देखिएको हो । तर यर्थाथमा हेर्ने हो भने नेपालको पाँचतारे होटलले एकसयदेखि १५० डलरमै पर्यटनबाट खर्च उठाउँछन् । तर जुन सप्लायर्स र डिमाण्ड मिल्नुपर्ने हो त्यो मिलिरहेको छैन । लगानीकर्ताहरुले पनि अन्धाधुन्ध लगानी गरेको देखिन्छ । जुन तरिकाको पर्यटक आउने फ्लो छ त्यसमा सुधार भइसकेको छैन् । अहिले काठमाडौंमा सिजनल समयमा ९० प्रतिशत होटल बुकिङ हुनुपर्ने हो तर यो वर्षको तथ्यांकको अवस्था हालत नै छ । अवस्था ४५ देखि ५० प्रतिशतमा मात्र छ । पोखरा ४० प्रतिशत भन्दा कममा छ । चितवन ३० प्रतिशत भन्दा कममा छ । लुम्बिनीमा त्यस्तै छ । होटेल खोलेर मात्रै पनि हुने अवस्था छैन । यसका लागि कनेक्टिविटी हुनुपर्छ । तर राज्यले भन्सारदेखि लिएर हरेक पूर्वाधारमा सुधार ल्याउनुपर्ने देखिन्छ ।
नेपालका होटलहरु अन्तर्राष्ट्रिय स्तरका अर्थात लक्जरी भएनन् र सोही स्तरका पर्यटक नेपाल आउन चाहिरहेका छैनन् भन्ने छ । के नेपालका होटलहरुको स्तरीयतामा प्रश्न उठेको हो ?
होटल एउटा पक्ष हुनसक्छ । अन्तर्राष्ट्रिय पर्यटकको लागि जुन लक्जरीयस हुनुपर्छ त्यसमा होटल नै पर्छ । नेपालमा लक्जरी नभएका होइनन् । वितेको पाँच वर्षको अवधिमा ब्राण्ड होटलहरु आएका छन् । हिल्टन त्यसको उदाहरण हो । अब चाँडै अन्नपूर्ण स्क्वायर आउँदै छ । यस्तै चौधरी ग्रुपले ललितपुरको झम्सीखेलमा लक्जरी होटल सञ्चालनमा ल्याउँदैछ । लग्जरी होटलहरु पर्यटनको लागि राम्रो पक्ष हो । नेपालको मार्केटस्तर विदेशमा राम्रो नै छ । दुवइ, साउदी, कतार, माल्दिभ्स, मकाओ र युरोपियन देशहरुमा नेपालले हस्पिटालिटिको बजार विस्तार गरिसकेको छ । तर हामीकहाँ कमजोरीहरु प्रशस्त छन् ।
नेपालका होटलहरु सेवामुलक भन्दापनि नाफा केन्द्रीत भए भन्ने आरोप छ । वास्तवमा यस्तै हो ?
यसलाई हामीले तथ्यांकमा हेर्नुपर्छ । जिओपी र एनओपी भन्ने कुराहरु हेर्नुपर्छ । नेपालमा नाफामुलक नै भएभन्ने हो भनेपनि होटलहरुले लगानी गरेका छन् त्यसको साँवाव्याज तिर्नै मुस्किल परिरहेको अवस्था छ । नाफामुलक उद्देश्यले होटल संचालनमा आए होलान तर व्यवसायीको अवस्था त्यहाँसम्म पुगिसकेको छैन् ।
यतिबेला नेपालमा पर्यटकको बसाइको अवधि कति छ ?
नेपालको पर्यटकको सरदर बसाइ औसत १३ देखि १५ दिन जस्तो देखिन्छ । बसाइको तुलनालाई मूल्याकंन गर्दै हामीले पर्यटन गतिविधीहरु बढाउनुपर्छ । साथै वातावरणको पाटोलाई बढाउन जरुरी छ । युरोपका बच्चाहरुलाई धान कसरी उम्रिन्छ भनेर असार साउनको महिनामा देखाउन सकिन्छ । पर्यटकीय स्थलहरुमा सोही अनुसारका गतिविधिहरु बढाउनसक्नुपर्छ । अहिले पर्यटकले चिनेको भनेको काठमाडौं, पोखरा र चितवन मात्र छ । थुप्रै ठाउँहरु ओझेलमा छन् । पर्यटन काठमाडौं आउने, त्यसपछि पोखरा र चितवन जाने गरेका छन् । यसले नेपालको समग्र पर्यटन क्षेत्रको विकास हुन सक्दैन ।
नेपालमा भिसा प्रक्रिया र विमानस्थलमा पर्यटकले झन्झट व्यहोर्नु परेको खबरहरु सार्वजनिक हुने गरेका छन् ।
तपाइँहरुसमक्ष आइपुग्ने पर्यटकहरुको गुनासा के कस्ता छन् ?
नेपालको भिसा प्रक्रिया सजिलो छ । तर यसमा नीतिगत मेकानिजम झन्झटिलो छ । पर्यटक एयरपोर्टमा आउनुहुन्छ त्यहाँ चेकिङमा मेसिन राखिएको हुन्छ । तर त्यो मेसिनले कहिले काम गर्छ, कहिले गर्दैन् । यस्ता स–साना समस्याहरु धेरै छन् । टेक्नोलोजीले धेरै कुरामा सजिलो त बनाइदिएको छ तर नेपालमा प्रविधिको समस्या हरेक क्षेत्रमा उस्तै छ । यसमा राज्यले विशेष ध्यान दिएर हेर्नुपर्छ । एयरपोर्टमा हुने सास्तीप्रति सरकारको ध्यान जानुपर्छ ।
होटल व्यवसायको लागि सरकारले के गरे राम्रो हुन्छ ?
होटलहरुलाई उद्योगको मान्यता दिनुपर्छ । यसमा श्रमका कुराहरु होलान्, टे«ड युनियनका कुराहरु होलान्, अरु विषयहरु होलान् तर यसलाई सहज बनाउन जरुरी छ । समस्याहरुलाई सरकारले बाटो फुकाल्ने कामहरु गर्न जरुरी छ । यसैगरी प्राइभेट सेक्टर, जिएम फोरमदेखि लिएरसबै कुरामा हामीले काम गर्दा भएका समस्याहरु नीतिगत चुनौतिहरु सरकारलाई सुनाउने गरेका छौं । सरकारबाट नीतिगत र कानूनसम्मत कुराहरुलाई थोरै परिवर्तन गरिदियो भने राम्रो हुन्छ ।
पर्यटन बोर्डको गतिविधि सुस्त भएजस्तो लाग्दैन् ?
यसमा राजनीतिक नियुक्ति कै कुरा हो । प्रमुख नियुक्तिमा अलमल हुँदा धेरै कामहरु अवरुद्ध भएका छन् । बोर्डलाई राजनीतिक हस्तक्षेप मुक्त राख्नुपर्छ । विशुद्ध रुपमा नीजि क्षेत्रदेखि सबैको प्रतिनिधित्व हुने गरेर लानसक्ने संस्थाको रुपमा विकास गर्नुपर्छ । यतिबेला पर्यटन बोर्डले राम्रो मान्छे(दिपकराज जोशी)पाएको छ । काम राम्रो होला भन्ने अपेक्षा गरौं ।
नेपालमा टे«किङ्को जुन संभावना थियो र छ । पछिल्लो समय विकासका पूर्वाधारहरुले असर पारेजस्तो लाग्दैन् ?
जथाभावी डाँडामा डोजर लगाउने प्रवृत्तिले एकदमै यसलाई प्रभाव पारेको छ । टे«किङ् रुटहरुमा बाइक, गाडी गुडाउने काम राम्रो होइन् । विशुद्ध नै हुनुपर्छ । डाँडाहरुलाई सुरक्षित गर्नुपर्ने ठाँउमा जथाभावी बाटो खोल्दा समस्या भएको छ । जसका कारण प्राकृतिक विपद् पनि निम्ताएको छ । प्राकृतिक सुन्दरतालाई विकासका नाममा कुरुप बनाइनु राम्रो होइन् । होमस्टेहरु पनि उद्देश्य चलाउन सक्नुपर्छ ।
होटलमा एमआरपीको समस्या छ भन्छन् । यसमा केही सुधार गर्न सकिदैन् ?
एमआरपीमा खानेपानीलगायत अन्य सेवा सुविधाका कुराहरु आउँछन् । एमआरपी नै लागू गर्न मिल्छ जस्तो मलाई लाग्दैँन् । त्यसमा लगानी परेको हुन्छ त्यसैले वैज्ञानिक हुन आवश्यक छ । कहीं पानीको मूल्य एकदमै माथि छ भने कतै कम पनि छ । तर बाँकी कुरामा एमआरपीले त्यस्तो असर गर्दैन् ।
अब कुन कुन क्षेत्रमा अलि बढि सुधार गर्न सक्यो भने नेपालको पर्यटनले गति लिन सक्छ ?
पहिलो कुरा एरलाइन्स नै हो । किनभने हामी इयूको कालोसूचीमा परेका छौं । अझै पनि त्यहाँबाट निस्किन सकेका छैनौ । यसमा ढिला भइसक्यो । पहिला हामी उड्ने आकाश खुल्ला हुनुपर्छ, ब्यान्ड हुनुहुदैँन् । यसलाई हटाउनको लागि सुरक्षाको उपाय अपनाउन जरुरी छ । मापदण्ड पुरा गर्नेतर्फ लाग्नुपर्छ । अहिले जहाज ल्याएर मात्र हुँदैन् पहिला कालोसूचीबाट हट्नुपर्छ ।
त्यसपछि पूर्वाधार राम्रो हुनुपर्छ । सडक वा बाटोको अवस्था राम्रो छैन् । यसलाई मध्यनजर राखेर काम गर्नुपर्छ । पर्यटन असर पर्दा मुलुकको पूरा अर्थतन्त्रमा यसले प्रभाव पार्छ । यसमा ध्यान दिनुपर्छ । अर्को कुरा मान्छे विदेश बसेर सिकेको ज्ञानलाई नेपालमा नै काम गरेर बस्नसक्ने अवस्था सिर्जना गर्नुपर्छ ।
नेपाल सुरक्षित गन्तब्य हो भन्ने सन्देश गएको छ तर हवाई र यातायातको साधन दुर्घटनाका कारणले नकरात्मक छाप बसेको छ । यसलाई पहिलो प्राथमिकता दिएर सुधार गर्नुपर्छ । पर्यटन बोर्डले नेपाललाई अन्तर्राष्ट्रिय जगमा जुन तरिकाले प्रचार गर्नुपर्ने हो त्यो भएको छैन् । विदेशमा रहेका नेपालीहरुमा लगानी गर्ने मनसाय भएपनि लगानीमैत्री नीतिको अभाव छ ।
प्रतिक्रिया