काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरुलाई नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्।
कोरिया सरकारको आयोजनामा हालै सम्पन्न नेपाल इन्भेष्टर सेमिनारमा सम्बोधन गर्दै कार्कीले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको र दक्षिण एसियामा भारत बाहेक नेपालको कन्ट्री रेटिङ सबैभन्दा राम्रो रहेको उल्लेख गरे। उनले कोरियाली लगानीकर्तालाई नेपालमा सहज र सुरक्षित प्रतिफल लिनको लागि ढुक्कसँग लगानी गर्न आग्रह गरे।
नेपालको जलविद्युत क्षेत्रमा हाल कोरियन लगानीमा २१६ मेगावाटको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजना निर्माण भइरहेको जानकारी दिनुभएको कार्कीले नेपालको ऊर्जा उत्पादनको ठूलो सम्भावनालाई साकार बनाउन कोरियाबाट अझ बढी लगानीको अपेक्षा व्यक्त गरे।
कोरियामा बसेका नेपालीहरूले पनि नेपालको ऊर्जा क्षेत्रमा प्रवर्द्धक र साधारण शेयर होल्डरका रुपमा लगानी गरेको स्मरण गर्दै उनले, राष्ट्र र व्यक्तिगत फाइदाका लागि कोरियामा रहेका नेपालीहरूलाई थप लगानीका लागि आह्वान गरे।
नेपालको जलविद्युत क्षेत्रमा २०० आयोजनाबाट ३२ सय मेगावाट जडित क्षमता रहेकोमा लगभग ८० प्रतिशत, अर्थात् २६ सय मेगावाट निजी क्षेत्रबाट उत्पादन भइरहेको छ। साथै, ४ हजार मेगावाट निर्माणाधीन र त्यतिनै क्षमताका आयोजनाहरू वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका छन्।
नेपालले वर्षायाममा भारतलाई १ हजार मेगावाट र बंगलादेशलाई ४० मेगावाट विद्युत निर्यात गर्दै आएको छ भने, हिउँदमा ७०० मेगावाट विद्युत आयात गर्छ। नेपालका ६ हजार साना र ठूला नदीनालाहरूमा २ लाख मेगावाट जलविद्युत उत्पादनको सम्भावना रहेको उनले उल्लेख गरे।
कार्कीले भने, “नेपालको जलविद्युत क्षेत्र विशेष गरी कोरियन लगानीका लागि ठूलो अवसर रहेको छ। नेपालको क्षेत्रीय विद्युत व्यापारले नेपाललाई एसियामा ठूलो ऊर्जा निर्यातकर्ता मुलुक बनाउने सम्भावना देखाउँछ।”
नेपालले २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ, जसमा १५ हजार मेगावाट विद्युत निर्यात गर्ने र १३ हजार ५०० मेगावाट आन्तरिक खपतका लागि प्रयोग गर्ने योजना बनाएको छ। यस लक्ष्यलाई हासिल गर्न नेपाललाई ५० बिलियन डलर उत्पादनमा र ८ बिलियन डलर प्रसारण र वितरण संरचनामा लगानी आवश्यक पर्ने कार्कीले जानकारी दिए।
यो लक्ष्य पुरा गर्न नेपालले केवल लगानीकर्तालाई आमन्त्रण गरेको छैन, वरन कन्सल्ट्यान्ट सेवा, उपकरण उत्पादक, आपूर्तिकर्ता, डिजाइनर, बैंकर, बीमक, पुनर्बीमक लगायतका सेवा प्रदायकहरूको लागि पनि ठूलो अवसर रहेको उनले बताए।
प्रतिक्रिया