Logo

मुख्य समाचार

प्रधानमन्त्रीको साथमा ३८ जना व्यवसायी जाँदै छन् चीन भ्रमण



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा ३८ जना उद्योगी व्यवसायी चीन भ्रमणमा जाँदै छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधि मण्डलमा व्यवसायीहरु चीन भ्रमणमा जान लागेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघबाट अध्यक्ष चन्द्र ढकालसहित १८ जना, सीएनआईबाट २ जना चेम्बर अफ कमर्शबाट ६ , इप्पानबाट ६, नाडाबाट २ र विभिन्न क्षेत्रका प्रतिनिधि ४ जना भ्रमण दलमा सहभागी हुने छन् ।

भ्रमणदलमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष ज्योत्सना श्रेष्ठसहितका कार्यसमिति सदस्यहरू छन् ।

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवाल र उपाध्यक्ष हेमराज ढकाल पनि यस भ्रमणमा सहभागी छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र सल्लाहकार समितिका अध्यक्ष राजेश काजी श्रेष्ठ समेत प्रतिनिधिमण्डलमा सहभागी रहेका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संघ (इप्पान) का अध्यक्ष गणेश कार्की, उपाध्यक्षहरू मोहन कुमार डाँगी, आनन्द चौधरी र रामप्रसाद आचार्य पनि टोलीमा सहभागी छन् ।

त्यस्तै नाडा अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष करण चौधरी, महासचिव सुरेन्द्र कुमार उप्रेती, र साना तथा मझौला उद्योग संघका अध्यक्ष उमेश प्रसाद सिंहलगायतका विभिन्न क्षेत्रका प्रतिनिधिहरू पनि भ्रमण टोलीमा सहभागी रहेका छन् ।

त्यस्तै, प्रधानमन्त्रीको भ्रमणदलमा ३९ जना सरकारी अधिकारीहरु सहभागी हुने छन् ।

प्रधानमन्त्री ओलीको भ्रमण मंसिर १७ देखि २० गतेसम्म हुनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ३ : ३५ बजे