काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको लगानीको वातावरण सुधार गर्नका लागि केही कानुनी संशोधन आवश्यक रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित ‘प्लास्ट नेपाल २०२४’ कार्यक्रमको उद्घाटन समारोहमा उनले गत वैशाखमा लगानी सम्मेलनको क्रममा केही कानुनहरू अध्यादेशमार्फत संशोधन भए पनि तिनका नियमावली र कार्यविधि अझै तयार नभएकाले कार्यान्वयनमा समस्या आएको गुनासो गरे।
उनले भने, “कानुनहरू संशोधन भए, तर तिनका नियमावली र कार्यविधि तयार नभएको अवस्था छ। यो समस्यालाई चाँडो सम्बोधन गर्नु आवश्यक छ।” निजी क्षेत्रका आन्तरिक शुल्क, उत्पादन सामग्रीको बर्बादी र मूल्यसम्बन्धी समस्याहरूको समाधान गर्न समयमै व्यावहारिक निर्णय गर्नुपर्ने आवश्यकता उनले औंल्याए।
अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्यमा लगानी सम्मेलन सफलतापूर्वक सम्पन्न भएको भन्दै निजी क्षेत्रले यसलाई स्वागत गर्दै आर्थिक सुधारका लागि उच्चस्तरीय आयोग गठन गर्ने प्रस्तावको पनि समर्थन गरेको बताएका छन्।
उनीले व्यवसायीहरूलाई आयोगको सुझावका लागि लगानी प्रभावित गरेका कानुनका बारेमा सुझाव दिन आह्वान गर्दै ती समस्याहरूको समाधान गर्दा छोटो समयमा आर्थिक सुधार सम्भव हुने विश्वास व्यक्त गरे।
प्रतिक्रिया