काठमाडौं । नेपालको प्रमुख डिजिटल वालेट ‘खल्ती’ले क्रिकेट एसोसिएसन नेपाल (क्यान) सँग साझेदारी गर्दै नेपाली क्रिकेटको महाकुम्भ, ‘नेपाल प्रिमियर लिग (NPL)’ को पहिलो संस्करणको आधिकारिक टिकटिङ पार्टनरको रूपमा कार्य गर्ने घोषणा गरेको छ।
यस लिगले देशभरिका र अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडीहरूलाई एकत्रित गर्दै नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। क्रिकेट फ्यानहरूको उत्साह अहिले चरम अवस्थामा छ, र अब उनीहरूले खल्ती एप प्रयोग गरेर सजिलैसँग टिकट बुक गर्न सक्ने छन्।
केही मात्र क्लिकमा खल्तीबाट टिकट प्राप्त गरी, फ्यानहरूले स्टेडियममा गएर आफ्नो मनपर्ने टिमलाई समर्थन गर्न, प्रत्येक चौका, छक्का र विकेटको रोमांच अनुभव गर्न, र खेलका सरप्राइजिङ मोमेन्टहरू प्रत्यक्ष देख्न सक्नेछन्।
अब खल्ती एपमा अनलाइन टिकटहरू उपलब्ध छन्। साधारण टिकटको मूल्य प्रति दिन रु ३०० र भिआइपी टिकटको मूल्य रु ५०० तोकिएको छ, पहिलो दिन र प्लेअफ खेलहरूको टिकट भने चाँडै उपलब्ध गराइने खल्तीले जनाएको छ। थप रूपमा, फ्यानहरूले सम्पूर्ण सिजनका लागि एकमुष्ट पास पनि खरिद गर्न सक्नेछन्: साधारण टिकटको मूल्य रु ४,४८० र भिआइपी पासको मूल्य रु ८,२४० तोकिएको छ।
नेपाल प्रिमियर लिग १५ मंसिरदेखि काठमाडौको TU अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा सुरु हुनेछ, जसमा विराटनगर किन्ङ्स, जनकपुर बोल्ट्स, काठमाडौँ गुर्खाज, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, र सुदूरपश्चिम रोयल्सका ८ वटा टोली प्रतिस्पर्धा गर्नेछन्। यस लिगमा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता रहनेछ।
क्यानका सचिव र नेपाल क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का भन्छन्, “NPL मा खल्तीलाई टिकटिङ पार्टनरको रूपमा पाउँदा हामी निकै उत्साहित छौँ। नेपाल क्रिकेटलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने यो अवसरमा सबै फ्यानहरू ग्राउन्डमा आएर हाम्रो समर्थन गर्नुहुनेछ भन्ने विश्वास राख्छौँ। मंसिर १५ मा TU ग्राउन्डमा भेटौँला।”
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले यो साझेदारीलाई उत्साहजनक मान्दै भने, “खल्ती र NPL बीचको यो साझेदारी क्रिकेट प्रेमीहरूका लागि ठूलो उत्साहको विषय हो। डिजिटल टिकटिङमा अग्रणी खल्ती र क्रिकेट फ्यानहरूको चाडपर्व NPL को यो साझेदारीले सबै फ्यानहरूको अनुभवलाई अत्यन्त उत्कृष्ट बनाउने छ। हामीलाई विश्वास छ कि सबैले बिना कुनै झन्झट, सहज ढंगले टिकट बुक गरेर खेलको मज्जा लिन सक्नेछन्। अब स्टेडियमहरूमा गुञ्जनेछ, नेपालमा गुञ्जनेछ।”
ISO २७००१ः २०१३ द्वारा प्रमाणित खल्तीले २०२२ मा WITSA Global Innovation & Tech Excellence Awards जितेको र २०२३ मा नेपालका सबैभन्दा बढी डिजिटल भुक्तानी कारोबार गर्ने भुक्तानी सेवा प्रदायकको सम्मान प्राप्त गरेको छ। खल्तीको ८ वर्षको यात्रा अब ४० लाखभन्दा बढी प्रयोगकर्ता, १ लाखभन्दा बढी एजेन्ट र ३०० भन्दा बढी कर्मचारीहरूको परिवारमा परिणत भएको छ। यसले विभिन्न डिजिटल सेवाहरू जस्तै बिल भुक्तानी, रिचार्ज, टिकट बुकिङ, र अन्य सेवा प्रदान गर्दै देशभरि वित्तीय साक्षरता प्रवर्द्धन गर्दै आएको छ।
प्रतिक्रिया