काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमपले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिने भएका छन् । नोभेम्बर ५ मा भएको चुनावबाट निर्वाचित भएका ट्रम्पले कार्यभार जनवरी २० देखि सम्हाल्ने छन् ।
त्यसअघि नै महत्वपूर्ण जिम्मेवारी दिने व्यक्तिहरुको सूची सार्वजनिक गर्दै आएका ट्रम्पले नयाँ विभाग गठन गर्दै मस्क र रामास्वामीलाई जिम्मेवारी दिएका हुन् । ट्रम्पले सरकारी खर्च घटाउने र कर्मचारीहरुमाथि निगरानी गर्ने उद्देश्यले ‘सरकारी दक्षता विभाग’ नै बनाएका छन् । त्यसैको नेतृत्व मस्क र रामास्वामीलाई सुम्पिएका हुन् । यो विभागले अनावश्यक नियमहरु परिमार्जन र हटाउन, फजुल खर्चमा कटौती गर्दै संघीय निकायहरुलाई पुनर्संरचना गर्न भूमिका खेल्ने छ ।
मस्क र रामास्वामीले २०२६ को जुलाई ४ सम्ममा आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् । ४ जुलाई २०२६ मा अमेरिकाले २५० औं वार्षिकोत्सव मनाउँदै छ । चुनावकै बेला विभिन्न कुराहरुको पुनर्संरचना गर्ने बताएका ट्रम्पले यो विभाग अमेरिकी जनताका लागि ‘उपहार’ हुने बताएका छन् ।
एलन मस्क टेस्ला, स्पेसएक्स र एक्स (पूर्व ट्विटर) का प्रमुख हुन् । उनी ट्रम्पको चुनावी अभियानमा खुलेरै लागेका थिए भने विवेक रामास्वामी एक औषधि कम्पनीका संस्थापक र उद्यमी हुन् । उनले ट्रम्पको राष्ट्रपतीय अभियानमा समर्थन जनाउँदै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका थिए । नयाँ विभागको संक्षिप्त नाम ‘डीओजीई’ रहेको छ । यसलाई मस्कले प्रचार गर्ने लोकप्रिय क्रिप्टोकरेन्सी डोजक्वाइनसँग मिलेको रुपमा पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया