काठमाडौं । राजधानीमा जारी महिला साफ च्याम्पियनसिपको फाइनल खेल बुधबार हुँदै छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ साढे ६ बजे सुरुहुने खेलमा उपाधिका लागि घरेलु टोली नेपाल र डिफेन्डिङ च्याम्पियन बंगलादेश आमने सामने हुँदै छन् ।
फाइनल खेल अघि मंगलबार भएको पत्रकार सम्मेलनमा नेपाली टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले बंगलादेशविरुद्धको फाइनल जसरी पनि जित्ने गरी मैदान उत्रिने बताइन् । उनले अहिलेको आफूहरुको टिम उत्कृष्ट रहेको बताउँदै ‘हामी गर्छौं हामी जित्छौं भन्ने नारा नै’ रहेको प्रष्ट पारिन् । उनले भनिन् ‘अहिलेको टिमले प्रतियोगिता नजिते अर्को ५–१० वर्ष लाग्न छ । हाम्रो टिम बण्डिङ पनि राम्रो छ ।’
सन् २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग पराजित भएकाले धेरैले बदला लिने अवसर भनि रहेका बेला कप्तान एन्जिलाले बंगलादेशविरुद्ध बदला लिने भन्दा पनि उपाधि जित्ने नेपालका लागि अवसरको रुपमा ब्याख्या गरिन् ।
नेपालले साफ महिला च्याम्पियनसिपको ६ मध्ये ५ संस्करण फाइनल खेल्दा जहिले पनि उपाधि विमुख भएको छ । २०२२ को फाइनलमा नेपाल बंगलादेशसँग ३–१ ले पराजित भएको थियो ।
नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नेपाल फाइनलका लागि तयार रहेको र जित्नका लागि खेल्ने प्रष्ट पारे । सेमिफाइनलमा भारतविरुद्धको नतिजाबाट उत्साहित देखिएका प्रशिक्षक तामाङले गल्ती कमिकमजोरी सच्याएर टिमले खेल्ने उल्लेख गरे ।
यसैगरी, बंगलादेश टिमकी कप्तान सविना खातुनले नेपालसँगको फाइनल चुनौतीपूर्ण हुने बताउँदै उपाधि रक्षाका लागि मैदान उत्रने उल्लेख गरिन् ।
यसैबीच, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार नै साफ महिला च्याम्पियनसिपको ट्रफी पनि सार्वजनिक गरिएको छ । दुवै टिमका कप्तान र प्रशिक्षकले ट्रफीसँगै फोटोसुट गरेका थिए ।
प्रतिक्रिया