Logo

Breaking News 1

विश्वकप लिग–२ : क्यानडासँग नेपाल १०३ रनले पराजित



काठमाडौं । आइसीसी विश्वकप लिग–२ क्रिकेटमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको छ । एक दिवसीय क्रिकेटमा नेपाल क्यानाडासँग पहिलो पटक पराजित भएको हो । किंग सिटी मैदानमा घरेलु टोली क्यनडाले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर २५३ रन बनाएको थियो ।

सुरुआत राम्रो नगरे पनि क्यानडाले मिडिल अर्डरमा सम्हालिएको प्रदर्शन गरेको थियो । क्यानडाका कप्तान निकोलश किर्तनले ४४ बलमा ७३ रनको आक्रामक पारि खेलेका थिए । नटआउट रहेका उनले ६ छक्का र ३ चौका प्रहार गरे । यसैगरी नभनित धालिवालले ४८ रन बनाउँदा डेलिन हेलिगेरले ३० रन जोडे । यसैगरी हर्ष ठाकरले २७ रन बनाएका थिए । नेपालका सोमपाल कामी र ललित राजवंशीले दुई दुई विकेट लिए । यसैगरी सन्दीप लामिछाने, गुलसन झा र रोहित पौडेलले एक एक विकेट लिए ।

२५४ रनको लक्ष्यसहित मैदान उत्रिएको नेपाली टिमको ब्याटिङ अर्ड ध्वस्त हुँदा ४०.१ ओभरमा सवै विकेट गुमाएर १५० रनमा समेटियो । नेपालका करण कसेसीले सर्वाधिक २७ रन बनाउँदा सन्दीप लामिछानेले २२ रन बनाए । यसैगरी आशिफ शेखले २० रन जोडदा भीम सार्कीले १८ रनको योगदान गरे । गुलसन झाले १५ रन बनाउँदा कुशल मल्लको ब्याटबाट १२ रन बन्यो ।

ओपनर कुशल भुर्तेल १ रनमा आउट हुँदा कप्तान रोहित पौडेलले ५ रन जोडे । यसैगरी दीपेन्द्रसिंह ऐरीले ८ तथा सोमपाल कामीले ६ रन बनाउँदा ललित राजवंशी २३ बल खेल्दै खाता नखोली नटआउट रहे । नेपालको ब्याटिङ ध्वस्त बनाउँदा डेलिन हेलिगरले १० ओभरमा ३१ रन खर्चिएर ५ विकेट लिए । यस्तै, अखिल कुमार र अन्स पटेलले दुई दुई विकेट लिँदा साद बिन जाफरले एक विकेट लिए ।

विश्वकप छनोटमा नेपालसहित ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । जितपछि क्यानडा अहिले ९ खेल खेल्दा ५ मा जित र ४ खेलमा हारसहित १० अंक बनाएर दोस्रो स्थानमा उक्लिएको छ । यता नेपाल भने ५ खेल खल्दा ४ मा हार र १ मा जितका साथ २ अंक बनाएर तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : १ आश्विन २०८१, मंगलबार  ८ : ०९ बजे