काठमाडौं । बाह्रखरी मिडियाले छैटौँ ‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता–२०८१’ घोषणा गरेको छ । आख्यान साहित्यको सशक्त विधा कथा लेखनमा स्थापित र नयाँ कथाकारहरूको प्रतिभालाई प्रोत्साहन एवम् पुरस्कृत गर्ने उद्देश्य रहेको यस कथा प्रतियोगितामा आफ्नो रचना पठाउन बाह्रखरी मिडियाले २०८१ भदौ ३१ गते पत्रकार सम्मेलनमार्फत कथा आह्वान गरेको हो ।
नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको यस प्रतियोगितामा कात्तिक ५ गतेसम्म सम्पूर्ण प्रतियोगी कथाकारहरूले [email protected] मा इमेल गरेर कथा पठाउनुपर्नेछ । नेपाली भाषाका सर्जकहरूले संसारभरबाट कथा पठाउन सक्नेछन् ।
‘डिशहोम बाह्रखरी कथा–२०८१’ को निर्णायक समूहमा सशक्त समालोचक तथा लेखक प्रा.डा. ज्ञानू पाण्डे रहनुभएको छ भने सदस्यहरूमा लेखक तथा समालोचक डा. गीता त्रिपाठी र साहित्यकार श्री धीरेन्द्र प्रेमर्षि हुनुहुन्छ ।
बाह्रखरीलाई प्राप्त भएका सबै कथाहरूलाई पहिलो चरणमा बाह्रखरीका विचार सम्पादक गोविन्द अधिकारीको संयोजकत्वको आन्तरिक समूहले छाँट्ने काम गर्नेछ । आन्तरिक समूहले प्राप्त भएका कथामध्येबाट ५० कथा निर्णायक समूहलाई उपलब्ध गराउनेछ ।
ती ५० कथामध्येबाट निर्णायक समूहले प्रथम, द्वितीय र तृतीय कथाका साथै ‘उत्कृष्ट कथा २०८०’ का लागि थप २२ कथा छानेर पठाउनेछ । निर्णायक समूहको निर्णय नै अन्तिम मानिनेछ ।
प्रतियोगितामा सर्वोत्कृष्ट तीन कथालाई अघिल्ला वर्षहरूमा जस्तै क्रमशः एक लाख, ६० हजार र ४० हजार रुपैयाँ नगद राशिका साथ पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
अन्तिम चरणसम्म पुग्न सफल उत्कृष्ट २५ कथा संगृहीत पुस्तक प्रकाशन गरिनेछ ।
संग्र्रहमा प्रकाशित हुने बाँकी २२ कथाकारलाई जनही पाँच हजार रुपैयाँ सम्मानस्वरूप प्रदान गरिनेछ ।
गत वर्ष यस प्रतियोगितामा विश्वभरिबाट ८४३ कथा प्राप्त भएको थियो ।
यस वर्षको कथा प्रतियोगिताको नतिजा २०८१ मंसिर १४ गते शुक्रबार एक विशेष समारोहबीच सार्वजनिक गरिनेछ । सोही दिन कथासंग्रहको पुस्तक ‘उत्कृष्ट कथा–२०८१ को लोकार्पण पनि गरिनेछ ।
डिशहोम बाह्रखरी कथा प्रतियोगिताको प्रथम संस्करणमा मकवानपुरकी बिना थिङ तामाङको ‘ब्याड भाले’ प्रथम भएको थियो । त्यस्तै, लक्ष्मण वियोगीको ‘टाउको’ द्वितीय र सुमित्रा न्यौपानेको ‘बार्दली’ तृतीय भएको थियो ।
प्रतियोगिताको दोस्रो संस्करणमा लहानकी मुना चौधरीको ‘लार’ प्रथम, श्रेयज सुवेदीको ‘बेजोडा’ द्वितीय र दीपेन्द्र दोङ तामाङको ‘बुलेट बाइक’ तृतीय भएको थियो ।
तेस्रो संस्करणमा मोरङका मनोजादित्य न्यौपानेको ‘अन्तिम अतिथि’ प्रथम, स्वप्निल नीरवको ‘बूढो घर’ द्वितीय र रेणुका जिसीको ‘मुडुली’ तृतीय भएको थियो ।
चौथो संस्करणमा दाङका नवीन अभिलाषीको कथा ‘दमाहा’ प्रथम, रमेशजंग थापाको ‘डढेको आकाश’ द्वितीय तथा रुमु न्यौपानेको ‘घूँघट’ तृतीय भएको थियो ।
पाँचौँ संस्करणमा लमजुङका मनोजबाबु पन्तको कथा ‘बूढो लाँकुरीको रुख’ प्रथम, काठमाडौंका प्रमोद प्याकुरेलको ‘काँचुली’ द्वितीय र गुल्मीका विजय हितानको ‘चेपाङ, चमेरा र चिउरी’ तृतीय भएको थियो ।
सर्त तथा नियम :
कथा नेपाली भाषामा लेखिएको मौलिक रचना हुनुपर्नेछ ।
अघिल्लो वर्षमा प्रतियोगिताका लागि पठाइएका कथा दोहो¥याएर पठाउन पाइनेछैन ।
कथा अप्रकाशित र अप्रसारित हुनुपर्नेछ । नतिजा सार्वजनिक नहुन्जेल प्रतियोगितामा पठाइएको कथा कतै पनि प्रकाशन वा प्रसारण गर्न पाइनेछैन ।
छनोटमा परेका कथा अन्य माध्यममा प्रकाशन वा प्रसारण भएको पाइएमा पुरस्कार निलम्बन गरिनेछ ।
‘डिशहोम बाह्रखरी कथा प्रतियोगिता’मा भाग लिने उद्देश्यले पठाइएका कथा पुस्तकका रूपमा प्रकाशन भइसकेपछि अन्यत्र प्रकाशन वा प्रसारण गर्न बाह्रखरीको पूर्वस्वीकृति अनिवार्य छ ।
कथा कम्तीमा १,५०० शब्द र बढीमा ४,००० शब्दसम्मको हुनुपर्नेछ ।
कथा वर्ड फाइलमा मात्र पठाउनुपर्नेछ ।
प्रतियोगीले कथासँगै आफ्नो छोटो परिचय, सम्पर्क मोबाइल नम्बर र हालसालै खिचिएको फोटो पनि पठाउनुपर्नेछ ।
प्रतियोगिताका लागि छानिएका कथाकारलाई बाह्रखरीले इमेल तथा फोनमार्फत सम्पर्क गर्नेछ ।
कथा पठाउनका लागि
इमेल– [email protected]
० ० ०
कथामा सिर्जना र प्रविधि : एक अनौपचारिक विमर्श
नयनराज पाण्डे
दुईचार लाइनको कथाको नै किन न होस्, खसोखास कुरो के हो भने कथाको विमर्श आफैँमा विशाल विषय हो । आउनुस्, एकछिन यो विशालताको पहाडमा तोडफोड मच्चाऔँ र यसलाई केही टुक्राटाक्रीमा बुझौँ ।
१. कथा के हो ?
कथा यो हो र यस्तो हुनुपर्छ भन्नेमा हजारौँ विद्वान्हरूले अनेक परिभाषा दिएका छन् । कथामा हात नचलाउनेले पनि स्कुल या विश्वविद्यालयका साहित्य विषयक पाठ्यक्रममा जाँचमा पाँच या दश नम्बरका प्रश्नका रूपमा सोधिने यस्ता परिभाषा पक्कै पढेकै छौँ । अहिले नै पनि गुगल गरेर यसबारे बुझ्न सकिहाल्नुहुन्छ । अब त तपाईंलाई सघाउन एआई पनि तयार छ । त्यसैले अहिले परिभाषाहरूको माकुरेजालोमा नअल्झिऔँ र अहिलेलाई यति मात्र बुझौँ – ती सबै कुरा कथा हुन्, जो अनेक सरल, वक्र या उटपट्याङ तवरले व्यक्तिको कल्पनाशीलताबाट जन्मिन्छन् । जसमा व्यक्ति या समाजका एकल वा बहुआयामिक पाटाहरू उद्घाटित हुन्छन् र पाठकहरूको मथिंगलमा जसबाट जिज्ञासा, आश्चर्य, निराशा, करुणा, स्नेह, प्रेम, आक्रोश, असन्तोष, घृणा, दिकदारी र प्रश्नजस्ता भावहरू उत्पन्न हुन्छन् ।
२. कथामा आदि, मध्य र अन्त्य
हरेक कथामा आदि (कभतगउ), मध्य (अयलाचयलतबतष्यल) र अन्त्य (चभकयगितष्यल) हुन्छ । यही भन्छन् व्याख्याताहरू । तर, बुझ्नुपर्ने कुरा के रहेछ भने, कथाका यी तीन तत्त्वहरू यही क्रममा हुनैपर्छ भन्ने कुनै बाध्यकारी नियम छैन । आफूले सुनाउन या भन्न मन लागेको कथालाई स्रोता या पाठकको मनमा अन्त्यैसम्म उत्सुकता जगाइराख्न कथाकारले जे जति जुक्ति लगाउन सक्छ, त्यो लगाउन ऊ हमेसा स्वतन्त्र छ । बस्, त्यो स्वतन्त्रताको प्रयोग गर्ने ’तमिज’ भने हुनैपर्छ । भन्नुको तात्पर्य, यस्तो आदि, मध्य र अन्त्यको क्रमभंगता लेखकले चलाखीपूर्ण सचेततासहित गरेको हुनुपर्छ ।
उदाहरण क
कारभित्र सिँगारिएर बसेकी बेहुलीलाई देख्नासाथ रमेशको मुखबाट फ्याट्टै कुरो फुत्कियो, ‘ओहो, रूपाले त दोस्रो बिहे गरिछ !’
उनी हतारहतार घर आए ।
घर आउनासाथ कान्छी श्रीमतीसित दिक्क मान्दै भने, ‘रूपा त चरित्रहीन रैछ !’
उदाहरण ख
उनी हतारहतार घर आए ।
घर आउनासाथ फत्फताए, ‘त्यो त चरित्रहीन पो रैछे !’
कान्छी श्रीमतीले चियाको गिलास दिँदै सोधिन्, ‘के भयो र ?’
‘रूपाले दोस्रो बिहे गरिछ,’ रमेशले दिक्क मान्दै भने ।
उदाहरण ग
’हैन, के भयो ? कुनै अप्रिय घटना देखेर आएजस्तो पो छ त तपाईंको अनुहार ।’
दिक्क भएर सोफामा बस्दै रमेश फत्फताए, ‘रूपाले दोस्रो बिहे गरिछ !’
अनि, कान्छी श्रीमतीको हातबाट चियाको गिलास लिँदै भने, ‘चरित्रहीन रैछे !’
३. लेखकको कम्फर्ट जोन र विषयवस्तुको चयन
धेरैले भन्छन्– लेखकले आफूले देखेको, भोगेको र बुझेको समाज या पात्रको कथा लेख्दा त्यो बढी विश्वसनीय हुन्छ ।
यो सिद्धान्तले लेखकलाई आफ्नो ‘कम्फर्ट जोन’मै बसेर नै लेख्नु हितकर हुने कुराको वकालत गर्छ ।
सिद्धान्त मान्नुहुन्छ ? ठिक छ । यसै गर्नुस् र आफ्ना वरिपरिका विषय खोज्नुस् र लेख्नुस् । सजिलो पनि यही हुन्छ । तर, यति ख्याल गर्नुस्, तपाईं कथाको क्षेत्रमा नयाँनयाँ हुनुहुन्छ भने कुनै कथा पढ्दा ‘ह्या, यो त मैले पढिसकेको कथा हो, लेखकले फेरि पनि किन त्यस्तै कथा लेख्या होला’ भन्ने लाग्छ भने ‘म आफूले चाहिँ त्यसो गर्दिनँ’ भनेर आफैँसित वाचा गर्नुस् । तपाईंले गरेको यही वाचाले मौलिक कथा लेखनको तपाईंको लडाइँमा आधा जित त पक्कापक्की हासिल हुनेछ ।
तर, सिद्धान्तको ज्वरो पन्छाएर अलिक रिस्क लिने विचारमा हुनुहुन्छ भने अन्तरिक्षको कथा लेख्न पनि तपाईंका लागि कम चुनौतीपूर्ण र रोमाञ्चक हुने छैन । हलिउडमै बसेर अल्फोन्जो कुह्वारोनले सान्ड्रा बुलकलाई ‘ग्य्राभिटी’मा फनफनी अन्तरिक्षमा घुमाएको कथा सिनेमाको पर्दामा तपाईंहरूले देख्नुभएकै छ क्या र !
यो कुरालाई अझै सजिलो गरी बताउन चाहन्छु ।
केही अजासुहरूले भन्छन्– झरीमा निथु्रक्क भिजेको मान्छेको पीडा लेख्न चाहनुहुन्छ भने तपाईं पनि झरीमा रुझ्नुस् ।
त्यस्ता अजासुसित तपाईंले प्रश्न गर्नुस्– के म छाता लिएर झरीमा जानु हुन्न ?
खास कुरा के हो भने, तपाईंसित कुनै विषय छ र त्यो विषयलाई विश्वसनीय ढंगले पठनीय बनाउन सक्छु भन्ने लाग्छ भने कुनै माइका लालसित नडराउनुस् । ढुक्कले लेख्नुस् । चौबाटोका लालबत्तीहरूमा देख्नुभएकै होला, ट्राफिक नियम उल्लंघन गर्ने चालकनिर एउटा ट्राफिक दाइ या दिदी दौडँदै आउनुहुन्छ र चिट काट्न थाल्नुहुन्छ । एकथरीले केही नबोली, सानका साथ आफ्नो लाइसेन्स बुझाउँछन् र चिट लिएर आनन्दले अघि बढ्छन् । उनीहरूलाई थाहा छ, यहाँ बीचबाटोमा गलफत्ती गरेर कुनै फाइदा छैन । अर्कोथरीचाहिँ पाउमै परूँलाजस्तो गरेर, रुन्चे स्वरमा ‘पिलिज, आजलाई छोडिदिनुस्’ भनेर याचना गर्न थाल्छन् ।
कथाको जगत्मा पनि जताततै ट्राफिक दाइ र दिदीहरू हुन्छ । अब तपाईं नै सोच्नुस्, तपाईं के चाहनुहुन्छ ? याचना गरेर कथाको ट्राफिक सिग्नलमै अल्झिरहन या भोलि देखाजाला भनेर आज आनन्दले अघि बढ्न ?
मर्जी तपाईंको ।
४. कथामा परिवेश, समय र वातावरण ः ल्याउने कसरी, घुसाउने कसरी ?
कथामा परिवेश त आउँछ नै । कतै छिपछिपे रूपमा, कतै सघन रूपमा । कथा सहरको हो कि गाउँको, मधेसको हो कि पहाडको, स्वदेशको हो कि परदेशको हो, महलको हो कि झुपडीको, या कथाकारको कल्पनाभित्र तयार भएको एउटा बेग्लै दुनियाँको हो, यो सबै बुझाउने परिवेशको चित्रणले नै हो । भन्छन्, परिवेशको सटीक चित्रणले कथालाई विश्वासयोग्य बनाउँछ । अझ तपाईं आफ्नो गाउँठाउँको कथा लेख्न चाहनुहुन्छ भने त योे जरुरी नै हुन्छ ।
धेरै राम्रा कथाकारहरूले सुरुआतकै केही वाक्य वा केही अनुच्छेदमै परिवेशको संकेत गरिदिन्छन् । वातावरण, जाडो, गर्मी सबै खुसुक्क भनिदिन्छन् । यसले गर्दा पाठकको दिमागमा म कुन ठाउँको कथा पढिरहेछु भनेर सुरुमै स्पष्ट हुन्छ । परिवेशलाई कथावाचकले प्रस्तुत गर्ने विवरण, पात्रहरूको गतिविधि या पात्रबीचको संवादमार्फत प्रस्ट पार्न सकिन्छ ।
उदाहरण क
यो तपाईं हामीले टेकेकै गाउँ हो । राधापुर । मैलेजस्तै तपाईंले पनि यहाँ कसैको घरमा बसेर परेवाको मासु र भात खाएको हुनसक्छ । मैलेजस्तै तपाईंले पनि आफ्ना साथीहरूसित यहाँ जीर्ण चिरहा कपडामा देखिएकी कुनै ग्रामीण बालाको यौवनको चर्चा गरेको हुनसक्छ । तपाईंले पनि जाडोमा घुर तापिरहेका नांगाभुतुंगा गेदहरनहरूको फोटो खिचेको हुनसक्छ । अथवा, मैले जस्तै तपाईंले पनि गाउँकी कुनै बुहारीले पैसा कमाउन इन्डियाको कुनै सहर गएका आफ्ना खसमको सम्झनामा गाएको गीत सुनेको हुनसक्छ —
…..पइसा अइसी चीज, राजा घरै नहीं आवयँ,
मडैया पुरान होइगय
टपकन लगी बुँद, राजा घरै नहीँ आवयँ ।
देवरा होइगय सयाने,
पकडन लगे बाहँ, राजा घरै नहीं आवयँ ।
पइसा अइसी चीज, राजा घरै नहीँ आवयँ…..
(यो कथांशमा चित्रण गरिएको परिवेश, भाषा, लोकगीत, वेशभूषा आदिबाट बुझिन्छ, यो मधेसको कथा हो । गरिबीले ग्रस्त गाउँको कथा हो ।)
उदाहरण ख
सुखीपुर गाउँको दलितले ब्राह्मणको घरको धारा छोएको विषयमा विवाद उत्पन्न भयो । हेर्दाहेर्दै दंगा सुरु भैहाल्यो ।
(यो कथांशबाट यो गाउँको कथा हो भन्ने त बुझिन्छ, तर पहाडको गाउँ कि मधेसको गाउँ भनेर छुट्टिँदैन । तर, यसैमा केही कुरा सहज किसिमले घुसाएर यो कथांशमा व्यक्त गरिएको गाउँबारे केही बलियो जानकारी दिन सकिन्छ । जस्तै,
‘सुखीपुरवामा त बहुतै बबाल भैरहेछ बे,’ रमेशले अँगौछाले पसिना पुछ्दै भन्यो ।
‘के भयो फेरि ? कतै बेकारमा मलाई बकाइरहेको त छैनस् ?,’ रामफेरनले तुरुन्तै सोध्यो ।
‘त्यो लमकन्ना छ नि, त्यसले दयाराम बाभनको धारामा गएर पानी पिएछ । बस्, के चाहियो – दंगा सुरु ।’
(यो कथांशबाट यो मधेसको प्रसंग हो भन्ने सहजै बुझिन्छ । पात्रको व्यवहार, हाउभाउ वा संवादबाट पनि यसरी परिवेश स्पष्ट पार्न सकिने रहेछ । यो विधि बढी रोचक र पठनीय हुँदो रहेछ । एकपटक ट्राई गरी हेर्नुहुन्छ कि !)
५. पात्र निर्माणका गल्तीहरू
कथालाई सुरु गरेर तार्किक निष्कर्षमा पु¥याउन सबैभन्दा बलियो भूमिका नै पात्रको हुन्छ । राम्रो कथा त्यही हो, जहाँ लेखक लुक्छ र पात्र मुखर हुन्छ । पात्र कथाकारका लागि सबैभन्दा सम्मानित व्यक्तित्व हुनुपर्छ । त्यसैले कथा लेख्दा यी गल्ती गर्दै नगर्नुस् ।
क) रमेश गरिब थियो । त्यसैले विचराले तीन दिनदेखि खाना खान पाएको थिएन । उसलाई कसैले उधारो पनि दिँदैनथ्यो ।
(लेखकले पात्र गरिब थियो भनेपछि पाठकले पत्याइदिनुपर्ने ? पात्रको गरिबीलाई कुनै घटनाक्रमले बलियो गरी स्थापित गर्नु पर्दैन ? के रमेशले मजदुरी गरेर भए पनि दिनको पाँचसात सय त कमाउन सक्थ्यो होला नि ! कि गरिबीले अल्छी बनाएको थियो उसलाई ?
बरु, यस्तो लेख्नुस् न, पत्यारिलो हुन्छ–
कतै काम पाउँछु कि भनेर कति दिनदेखि रमेश चोकमा गैरहेको थियो । तर, उसको दाहिने खुट्टा लुलो देखेर कसैले उसलाई मजदुरीमा लैजान मान्दैनथे । ऊ दिउँसोतिर जसरी रित्तो भएर गाउँबाट गएको थियो, उसरी नै रित्तो गाउँ फर्किन्थ्यो । तीन दिनदेखि उसको पेटमा एक गेडो अन्न पनि परेको थिएन । यतिका दिन त उधारोले ज्यान पालेको थियो । अब त कसैसित उधारो माग्ने ठाउँ पनि थिएन ।
ख) दैवको लीला अपरम्पार ! बिहे गरेको सात वर्ष भैसक्दा पनि मेघना र रघुले सन्तानको सुख पाएका थिएनन् । साँझ मेघना हस्याङफस्याङ गर्दै घरमा आइन् । रघुलाई ग्वाम्म अँगालो हाल्दै भनिन्, ‘हिजो प्रेग्नेन्सी टेस्ट गराएकी थिएँ, रिपोर्ट लिन गएकी, दुई जिउकी भइछु ।’
(यो कथांशले लेखक धर्मभिरु छन् भन्ने बुझाउँछ । जब लेखकले नै दैवको अस्तित्व स्वीकार गर्छ भने जीवन र जगत्का यावत् समस्यालाई दैवको लीला भनेर चुप लागे त भैगयो नि ! किन जान्ने भएर कथाकुथुंग्री लेखिबस्नु परेको ?)
लेख्ने नै हो भने यसोरी लेखे कसो होला ?
बिहे गरेको सात वर्ष भैसक्दा पनि मेघना र रघुले सन्तानको सुख पाएका थिएनन् । साँझ मेघना हस्याङफस्याङ गर्दै घरमा आइन् । रघुलाई ग्वाम्म अँगालो हाल्दै भनिन्, ‘हिजो प्रिग्नेन्सी टेस्ट गराएकोे, अघि रिपोर्ट लिन गएकी, दैवको लीला अपरम्पार, म त दुई जिउकी भइछु ।’
(यहाँ पात्रलाई आफ्नो धर्म र आस्थाको कुरा गर्नचाहिँ कुनै मनाही छैन ।)
ग) ऊ साह्रै सहयोगी भावनाको थियो । अरूलाई अप्ठ्यारो परेको त देख्नै सक्दैनथ्यो ।
(पात्र सहयोगी भावनाको छ भनेर लेखकले मात्र भनेर पुग्छ ? लेखक भगवान् हो ?)
कि यसरी लेख्ने ?
उसले गाडी र मोटरसाइकलको तीव्र ओहरदोहर देखेर बाटो काट्न नसकेर अलमलमा परिरहेकी वृद्धालाई देख्यो । ऊ वृद्धानिर गयो र आफैँले उनको हात समातेर सडक पार गराइदियो ।
(यसरी पात्रको सहयोगी भावनालाई घटनाक्रमबाट स्पष्ट गर्दा बढी प्रभावकारी हुन्छ कि ! सोच्नुस् ।
घ) कार्यक्रममा हाकिमसाबकी श्रीमतीले साह्रै मिठो गीत गाएर सुनाउनुभयो । गीत सुनेर दंग प¥यो हाकिमसाबको ड्राइभर लालवीर । हाकिमसाब त झनै मक्ख पर्नुभएको थियो । घर आएर उसले पनि आफ्नी स्वास्नीलाई गीत गाउन भन्यो । स्वास्नीको घाँटी बसेको थियो । उसले गीत गाउनै सकिन ।
बरु, यस्तो लेखे हुन्थ्यो कि–
कार्यक्रममा हाकिमसाबकी श्रीमतीले साह्रै मिठो गीत गाइन् । गीत सुनेर हाकिमसाबका ड्राइभर लालवीर पनि दंग परे । हाकिमसाब त झनै मक्ख परेका थिए । घर आएर लालवीरले पनि आफ्नी श्रीमतीलाई गीत गाउन भने । घाँटी बसेकोले उनले गीत गाउनै सकिनन् ।
यो प्रसंगको अन्त्य गर्दै भन्छु– तपाईंले लेखेको सिंगो कथालाई आफ्नो काँधमा बोकेर हिँड्ने पात्रलाई सम्मान गर्नुस् । पात्रप्रतिको भेदपूर्ण व्यवहार लेखकभित्रकोे वैचारिक विचलन या वैचारिक कच्चापनको तगडा उदाहरण हो ।
६ …र कथामा विचार
सबैभन्दा जरुरी कुरा सबैभन्दा अन्त्यमा भन्न मन लाग्यो । कथाजगत्मा ‘कथामा विचार’को पक्षमा बहसपैरवी गर्नेहरू टन्नै हुनुहुन्छ । कतिले भन्नुहुन्छ, कथामा विद्रोहचेत हुनुपर्छ । कथामा पराजय या पलायनको स्वर हुनु हुँदैन । कथामा निराशा हावी हुनु हुँदैन । शोषित, दमित, उत्पीडित पात्रले कथाको अन्त्यमा भए पनि सके बन्दुक समातेर क्रान्तिमा होमिनुपर्छ, नभए मालिकको घरमा आगो लगाएर जंगल भाग्नुपर्छ ।
छक्क पर्छु, जंगल, आगो र बन्दुक नहुँदो हो त क्रान्तिका कथाहरूको हविगत के हुँदो हो !
पात्रले भोगिरहेको जीवन, त्यसको पृष्ठभूमि, उसको हुर्काइ या उसको व्यक्तित्वको विकासक्रमले ऊभित्र कसरी विचार निर्माण हुन्छ र त्यसलाई कसरी सहज किसिमले अभिव्यक्त गरेर पाठकको मनमा सशक्त प्रभाव पार्न सकिन्छ भन्ने कुरामा अबको लेखक झनै सचेत हुनुपर्ने भएको छ ।
अझ बुझ्नुपर्ने कुरा के छ भने, हामीले ‘विचार’लाई राजनीतिक आस्थासित बढी जोड्यौँ । विचारका अरू अनेक आयामहरू छन् । पात्रलाई तँ, तिमी, तपाइँ, हजुर के भन्छ, त्यसबाट पनि लेखकको वैचारिकी बुझिन्छ । कथामा विचार भनेको समग्र कथानकसित लेखकले गर्ने ’डिल’ हो । लेखकले उठान गर्ने विषयवस्तु र त्यसको पछाडिको लेखकको नियत, त्यो विषयवस्तुलाई बोकेर हिँड्ने पात्रको निर्माण र चित्रण, घटनाक्रमसितको पात्रको अन्तरक्रिया, पात्रपात्रबीचको कार्यव्यापार, संवाद र अन्तद्र्वन्द, कथाको उठान र बैठान, भाषा र शिल्पको सचेत प्रयोगबाटै कथाभित्र प्रयोग हुने विचारको बोध हुन्छ । विचारलाई कथाको आत्मा मान्ने हो भने यति त बुझ्नैपर्छ, आत्मा देखिने कुरा होइन । यो अभौतिक रूपमा व्यक्तिको देहमा लुकेर बसिरहेको अदृश्य कुराजस्तै हो । कथामा पनि हुनुपर्ने यस्तै हो ।
७. बाह्रखरीका लागि कथा पठाउँदै हुनुहुन्छ भने…
बाह्रखरीको कथा प्रतियोगिताले अब उत्सवको रूप लिइसकेको छ । यो मूलतः नेपाली कथामा नयाँ र बलिया कथाकारको आगमन होस् भन्ने अभिप्रायले सुरु गरिएको हो । यद्यपि, यसमा पुराना पुस्ताको पनि निर्बाध आउजाउमा बन्देज लगाइएको छैन । यसपटक पनि तपाईंले बाह्रखरीका लागि कथा पठाउने सोचमा हुनुहुन्छ भने यसपटक अझै मेहनत गर्नुस् । आजै लेखेर भोलि नै नपठाइहाल्नुस् । केही दिन आफैँसित राख्नुस् । आफैँले पनि सम्पादन गरिरहनुस् । कथाप्रति जिज्ञासा राख्ने साथीभाइहरू हुनुहुन्छ भने एकपटक उहाँहरूसित पनि सरसल्लाह गर्नुस् । थोरै शब्दमा भन्न सकिने कुरालाई लम्बेतान र अलिक विस्तार चाहिने कुरालाई छोटोमा नभन्नुस् । पछि मैले यस्तो लेखेको, यस कारणले लेखेको भनेर तपाईंले स्पष्टीकरण दिँदै हिँड्नु नपरोस् । तपाईंले लेख्न चाहेको, भन्न चाहेको कुरा तपाईंको कथाले सर्लक्कै पाठकलाई बुझाओस् ।
यति गर्नुभयो भने हामी विश्वस्त हुनेछौँ, अरू वर्षभन्दा यसपटक अझै उम्दा कथाहरू बाह्रखरीलाई प्राप्त हुनेछन् ।
वरिष्ठ कथाकारहरूलाई बाह्रखरी कथा प्रतियोगितामा सहभागी हुन आग्रह
‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ मा वरिष्ठ तथा अग्रज कथाकारहरूलाई सहभागी हुन आग्रह गरिएको छ । आयोजक र निर्णायकले कथा प्रतियोगितामा सहभागी हुन आग्रह गरेका हुन् ।
‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता’ कथा लेखनको उत्सव भएको भन्दै वरिष्ठ कथाकारलाई पनि प्रतियोगी कथा पठाउन अनुरोध गरिएको छ । ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ को निर्णायकमण्डल संयोजक प्राध्यापक डा. ज्ञानू पाण्डेले अग्रज कथाकारका कथा प्रतियोगितामा प्राप्त भए त्यो नयाँ पुस्ताका निम्ति सम्मान र उत्प्रेरणा हुने बताइन् । अग्रज कथाकार पनि सहभागी हुँदा त्यसले नयाँ पुस्तालाई कथा लेखनमा थप हौसला हुने उनको भनाइ छ ।
सोमबार काठमाडौंमा ‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता–२०८१’ को घोषणा कार्यक्रममा उनले कथा लेख्न हौसला र प्रेरणा दिने र पुरस्कार पनि पाइने भन्दै यो अवसरलाई सदुपयोग गर्न आग्रह गरिन् । बाह्रखरी कथा प्रतियोगिताले भोलिका दिनमा अब्बल कथाकार जन्माउन भूमिका खेलिरहेको उनले बताइन् ।
निर्णायकमण्डल सदस्य धीरेन्द्र प्रेमर्षीले आफ्नै गाउँठाउँका प्रतिभा पनि बाह्रखरी कथा प्रतियोगितामार्फत चिनिन थालेको बताए । “बाह्रखरी कथा प्रतियोगिताको विजेता भएपछि मैले मुना चौधरीलाई हाम्रै गाउँको बैनी भनेर चिनेँ,” उनले भने, “बाह्रखरी कथा प्रतियोगिता कथाहरूको अनुष्ठान हो । कथा मन्थनमा पनि यसले विशेष भूमिका खेलिरहेको छ ।”
बाह्रखरी कथा प्रतियोगिताका आन्तरिक निर्णायकमण्डल संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा सहभागी भएपछि जित र हार स्वाभाविक भएको बताए । उनले अग्रज कथाकारलाई पनि प्रतियोगितामा सहभागी हुन आग्रह गरे । “यो प्रतियोगितामा वरिष्ठ साहित्यकारलाई पनि सहभागी हुन आग्रह गर्छु,” उनले भने, “प्रतियोगिता भनेकै कसैले जित्छ, कसैले जित्दैन । कथाकारहरूले पनि स्पोर्टसिपको अभ्यास गर्नुप¥यो ।”
बाह्रखरी कथाले नेपालको कथा लेखन क्षेत्रलाई थप फराकिलो बनाइदिने उनको विश्वास छ ।
‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता’का सम्पादक नयनराज पाण्डेले कथा लेखनको तरिकाबारे जानकारी गराए । व्यक्ति र समाजका एकल र बहुल विषयशैलीसहित लेखिने कथा नै राम्रो हुने उनले उल्लेख गरे । कथामा लेखक गौण र पात्र प्रधान भएर आए त्यो रोचक र उत्कृष्ट हुने उनले बताए ।
आदि, मध्य र अन्त्यको संरचनालाई भत्काएर चलाखी गर्दै कुशल लेखकले पाठकमा उत्सुकता जगाउँदै पठनीय कथा लेख्न सक्ने उनको भनाइ छ । “कथा आज लेखेर भोलि नै नपठाउनुहोस् । एकदुई दिनपछि पटकपटक हेरेर सम्पादन गरेर पठाउनुस्, त्यसो भयो भने राम्रो कथा तयार हुन्छ,” उनले नयाँ पुस्ताका कथाकारलाई सुझाव दिए, “बाह्रखरी कथा, कथाहरूको उत्सव भइसकेको छ । यो प्रतियोगिता अब बलिया र राम्रा कथाका लागि हो । त्यहीअनुसार मिहिनेत गरौँ ।”
फाइन प्रिन्टका प्रकाशक निरज भारीले बाह्रखरी उत्कृष्ट कथा प्रकाशन गर्न पाउनु गौरवको विषय भएको बताए । प्रकाशनगृहले गर्नुपर्ने काम बाह्रखरी मिडियाले गरेको भन्दै उनले प्रतियोगिताले नयाँ प्रतिभाको उजागर गर्ने विश्वास व्यक्त गरे ।
पछिल्लो समय युवा लेखक र पाठक नभएको उनले बताए । लेखक ३५ वर्षभन्दा माथिका र युवा पाठक पनि क्रमशः घट्दै गएका उनको बुझाइ छ । नयाँ पुस्ताले विदेशी लेखकका पुस्तक पढ्ने गरेको भन्दै उनले भने, “अब विद्यालय तहमै गएर लेखनमा आकर्षण गर्न सकिन्छ कि भन्ने लाग्छ । यो काम कठिन भए पनि आवश्यक भइसकेको छ ।”
निरजको योजना अहिलेको आवश्यकता भएको भन्दै बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले यसबारे सोच्नुपर्ने बताए । “यो निकै गम्भीर विषय हो । सहज छैन, तर सबैको साथ र सहयोग भयो भने गर्न सकिन्छ कि भन्ने लाग्छ,” उनले भने ।
‘डिशहोम छैटौँ बाह्रखरी कथा प्रतियोगिता’ साहित्यकारको विश्वास र भरोसाका कारण नै छैटौँ संस्करणसम्म आइपुगेको प्रधानसम्पादक प्रधानले बताए । कथा प्रतियोगितामा साहित्यकारको सहभागिता र वित्तीय क्षेत्रको सहयोग रहनु आफैँमा राम्रो पक्ष भएको र यसले नेपाली साहित्यलाई मजबुत बनाउँदै लैजाने उनले उल्लेख गरे ।
यसपटक वरिष्ठ साहित्यकारका कथा बाह्रखरी उत्कृष्ट कथामा समावेश नहुने उनले जानकारी दिए । उनले डिशहोम र अरू प्रायोजकको साथ र सहयोगकै कारण यो प्रतियोगिताले निरन्तरता पाइरहेको बताए ।
प्रतिक्रिया