काठमाडौं । नेपाली काङ्ग्रेसको पदाधिकारी बैठकले उपसभामुखले आफैले बुझेर राजीनामा दिनुपर्ने धारणा राखेको छ ।
बुधबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले उपसभामुखले गरेको कामले संसद र मुलुकको शिर झुकाएको भन्दै राजीनामा दिनुपर्ने धारणा राखेको पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिएका छन् ।
उनले भने, ‘काङ्ग्रेसको आधिकारिक धारणा भनेको उपसभामुखले आफैंले बुझेर राजीनामा दिनु राम्रो हुन्छ । उहाँमाथि गम्भीर प्रश्न उठेको छ । यो चानचुने कुरा होईन । अर्को देशको राजदूतावाससँगको सम्बन्धका विषयलाई लिएर उहाँले गर्नै नहुने काम उपसभामुखले कुनै पनि हालतमा लेखेर कुटनैतिक योगलाई त्यस्तो खालको सिफारिस गर्नै मिल्दैन। यो कामले संसदलाई नै अपमानित गरेको छ भन्ने हाम्रो भनाई छ । यो विषय गम्भीर छ, यसले मुलुकको शिर पनि झुकाएको छ । भन्ने काङ्ग्रेसको भनाई छ ।’
उनले संसदको उपसभामुख जस्तो पदमा बसेर अनुचित काम गरेर कुरामा दुविधा नरहेको भन्दै यसबारेमा छलफल भएको बताए ।
यसबारेमा कसरी जाने भन्ने कुरामा सत्तारुढ दलहरुबीच पनि छलफल गरेर साझा धारणा बनाएर अगाडि बढ्ने पनि उनको भनाई छ ।
साथै, उनले बैठकमा पार्टीभित्र कै भातृ संस्थाका निर्देशक समितिहरु बनाउने र अन्य पार्टीका आन्तरिक विषयहरुको बारेमा छलफल भएको पनि बताए ।
प्रतिक्रिया