Logo

समाचार

नेपालमा ट्याटु कला उपविधाको रुपमा स्वीकार, सेमिनारको तयारी सुरु



काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र हिमालयन ट्याटु समिटको सहकार्यमा ट्याटु वर्कसप तथा ट्याटु सेमिनार हुने भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा भदौ २५ र २६ गते दुइ दिन गरेर ट्याटु वर्कसप तथा ट्याटु सेमिनार हुन लागेको हो ।

सोही क्रममा मंगलबार भएको कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ललितकला प्रज्ञा–प्रतिष्ठानले ट्याटुलाई पनि कलाको एउटा उपविधाको रुपमा स्वीकार गरेको बताएका छन् ।

उनले भने, ‘यो भन्दा अगाडि कार्टुनलाई प्रवेश गराएका थियौ । अहिले ट्याटुसँग जोडिएका छौं । प्रतिष्ठानले पनि यो विधालाई पनि कलाको एउटा उपविधा हो भनेर स्वीकार गरेका छौ । सामाजिक रुपान्तरणमा यसलाई पनि जोड्न सकिन्छ । त्यसकारण यो विधालाई पनि बाहिर ल्याउनुपर्छ । कुनैपनि प्रकारको क्षमता लुक्न हुदैँन् भनेर यो विधालाई स्वीकार गरेका हौँ ।’

यसको साथै, उनले ट्याटुल समाजमा भोलि समस्या ल्याउँछ भन्ने खालको हल्ला रहेको भन्दै त्यो चुनौतीको सामना गर्न र त्यसलाई चिर्नको लागि पनि यसलाई प्रवेश गराएको बताए ।

उनले भने, ‘ट्याटुलाई समाजले राम्रो नजरले हेरेको छैन् । यसले समाजमा भोलि समस्या लिएर आउँछ । कलाको क्षेत्रमा यसलाई प्रवेश गराउनु हुदैँन् भन्ने खालको हल्ला छ । त्यो चुनौतीको सामना गर्न र त्यसलाई चिर्नको लागि प्रवेश गराएका हौं । यो पनि कला त हो यसलाई सामाजिक रुपमा नल्याउने हो भने यो क्षेत्र त पछाडी नै पर्छ ।’

उनले नेपाल सरकार र समाजले सबैको लागि एउटा दायर बनाएको भन्दै दायरामा बसेर नै काम गर्न पनि सबैलाई आग्रह गरेका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  २ : ०६ बजे