Logo

समाचार

बाढीले बगाएर बेपत्ता माझीको शव फेला



मकवानपुर । बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव मंगलबार बिहान फेला परेको छ । रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२, बकैया खोलाको बगरमा फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव परीक्षणका निम्ति बाराको कलैयास्थित प्रादेशिक अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मकवानपुरको बकैया गाउँपालिका–६, जसपालमा निर्माणाधीन द्रुतमार्गमा काम गर्दै आएका माझी बकैया–६, जुनाइस्थित खोला तर्ने क्रममा यही भदौ २१ गते अचानक बाढीले बगाउँदा बेपत्ता भएका थिए ।

इलाका प्रहरी कार्यालय निजगढको समन्वयमा बेपत्ता माझीको खोजतलास गर्ने क्रममा मंगलबार खोला किनारमा शव फेला परेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

प्रकाशित मिति : २५ भाद्र २०८१, मंगलबार  ११ : २१ बजे