Logo

मुख्य समाचार

नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै भ्याकेटमा जान्छ : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंका नदी किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने सर्वाच्च अदालतको फैसलामाथि सरकार छिट्टै पुनरावलोकन (भ्याकेट) मा जाने बताएका छन् ।

उपत्यका सडक विस्तार पीडित सङ्घर्ष समिति तथा खोला मापदण्ड सरोकार समूहका संयोजक सुमन सायमीसहितको टोलीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले स्थानीय जनता र सरोकार समूहका मुद्धालाई सम्बोधन गर्न सरकार तत्पर रहने बताएका हुन् ।

उनले भने, ‘सम्मानित अदालतका फैसलालाई हामी मान्छौँ । विविध कारणले कुनै कुनै फैसलाहरु त्रुटीपूर्ण हुन सक्छन् । फैसला उपयुक्त नलागेकोमा त्यसलाई सच्याउने कानूनी बाटो पुनरावलोकन नै हो । मलाई विश्वास छ, अदालतले जनताका पीरमर्कालाई बुझ्नेछ र तपाईँहरुले न्याय पाउनुहुनेछ ।’

यस्तै, उनले नेपालको सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्वहरु लागेको भन्दै हामीले राष्ट्रिय एकता र अस्तित्वलाई बलियो बनाउएर अगाडि बढ्नुपर्ने बताए ।

उनले भने, ‘नेपाली संस्कृति एकता र मित्रताको संस्कृति हो । हाम्रो सभ्यता र संस्कृतिलाई बिथोल्न अनेकथरी तत्वहरु लागेका हुन सक्छन् । हामीले हाम्रो राष्ट्रिय एकता र अस्तित्वलाई बलियो बनाउनु

पर्छ । पृष्ठभूमि नै नभएका केही भुईँफट्टाहरुले राष्ट्रिय एकताको भावलाई खल्बल्याउन सक्छन् । यसमा हामी सबै सजग हुनुपर्छ ।’

अदालतको फैसलाको पूर्ण पाठ आएपछि काठमाडौं महानगरपालिकाका प्रमुख स्तरको गत साउन २४ गतेको निर्णयबाट नदी किनारबाट थप २० मिटरसम्म संरचना नबनाउन सूचना गरिएको थियो ।

सङ्घर्ष समितिले फैसला र सूचना कार्यान्वानमा जाँदा लाखौँ जनता विस्थापित हुने र सम्पतिको सुरक्षा नहुने भएकाले फैसलामा पुनरावलोकन गर्न र नगर प्रमुखको सूचना कार्यान्वयन नगर्न माग गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार  १ : ४९ बजे