Logo

समाचार

वडाध्यक्ष मुकेश यादवको हत्या भएको परिवारको दाबी



काठमाडौं । महोत्तरीको रामगोपालपुर नगरपालिका-२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युबारे सत्यतथ्य छानविनका लागि उनको परिवारले माग गरेको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी मृतक मुकेशका आफन्तहरुले घटनाको अवस्था हेर्दा दुर्घटनाबाट मृत्यु भएकोमा शंका रहेको बताएका हुन् ।

गत भदौ ९ गते विहान मुकेश बर्दिबास-१२ स्थित सडक छेउमा मृत फेला परेका थिए । मृतकका परिवारले बताएअनुसार उनी स्थानीय शिक्षक सन्दीप झाले बोलाएपछि बर्दिबास गएका थिए । मुकेश बर्दिबास पुगेपछि सन्दीप, दिलिकुमार मण्डल र दुईजना केटीहरुले राजु होटलमा खाजा खाएको पाइएको उनले बताए ।

राजु होटलका सञ्चालको भनाइ उद्धृत गर्दै मृतक मुकेशका आफन्तले बताएअनुसार उनलाई सन्दीप, दिलिपलगायतले रातको ८ः३० बजे गौरीडाँडाको होटलमा जाने कर गरेका थिए । उनीहरुले कर गर्दा पनि मुकेश जान नमानेको बताइएको छ ।

मृतक मुकेशका दाजु सतनप्रसाद यादवले उक्त घटनाको अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले गर्नुपर्ने बताए । उनले घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा मुकेशको मृत्य भएको विश्वास गर्न नसकिने बताए । उनले स्थानीय प्रहरी प्रशासनले पनि यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताए ।

‘उक्त घटना भएर पोस्टमार्टमका लागि शव काठमाडौं लगिएपछि अर्को दिन सन्दीप झालाई प्रहरीले सामान्य सोधपुछ गरेर सोधेको छ । मुकेशसँग सम्पर्कमा रहेका व्यक्तिहरुको गम्भीरतापूर्वक छानविन गरेमा सत्यतथ्य पत्ता लाग्छ । प्रहरी प्रशासन यसमा गम्भीर नभएको आशंका छ । यस्तो अवस्थामा केन्द्रीय अनुसन्धान व्यूरोको यो घटनाप्रति ध्यानाकार्षण होस्,’उनले भने ।

महोत्तरीको साम्सी गाउँपालिका-१ का वडा अध्यक्ष एवं नेपाली कांग्रेसका नगर सभापति विपिन विहारी यदुवीरले मृतक मुकेशको हत्यारा पत्ता लगाउन राज्यले आनाकानी गरेको बताए ।

मृतक मुकेशको मृत्युबारे सत्यतथ्य पत्ता लगाउन दवाब दिन आफूहरुले महोत्तरी जिल्लाभरका वडाध्यक्षहरुको समिति नै बनाएको बताए । राजनीतिक इन्ट्रेस्ट र लेनदेनको विषयमा मुकेशको हत्या भएको उनले दाबी गरे ।

‘हाम्रो पनि विवेकले ठम्याएको छ- मुकेशको निर्ममतापूर्वक हत्या गरिएको छ । हामीले १५ गते शनिबार वडाअध्यक्षहरुको बैठक हुँदा यो हत्या नै हो भन्ने निश्कर्ष निकालेका छौं,’उनले भने ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ४ : २५ बजे