Logo

धर्म / संस्कृति

कलंकीको वासुकीचौरमा महायज्ञको तयारी, दिनबन्धुलगायतले कथा वाचन गर्ने



काठमाडौं । विश्व विराट ज्ञान आश्रमले श्रीमद्भागवत महापुराण महायज्ञ सञ्चालन गर्ने भएको छ । यही भदौ २४ गतेदेखि ३१ गतेसम्म सप्ताहव्यापी महायज्ञ सञ्चालन हुने विश्व विराट ज्ञान आश्रमका सङ्गठन प्रमुख उद्धवकुमार घिमिरेले जानकारी दिए ।

वासुकीचौर गोरक्षपीठ भुवनेश्वरी मन्दिरको प्रांगणमा राष्ट्र राष्ट्रियता तथा वैदिक सनातन धर्मका निमित्त योगदानको अपेक्षासहित उक्त कार्यक्रम संचालन गरिने प्रमुख घिमिरेले जनाए ।

महायज्ञमा प्रमुख वाचकका रूपमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल रहनेछन भने पण्डित विपिनकृष्ण भट्टराई उपवाचक रहने छन् ।

एक हप्तासम्म सञ्चालन गरिने महायज्ञको पूर्वसन्ध्यामा भजनकिर्तनसहित नाचगान हुने घिमिरेले बताए । कार्यक्रममा श्रीमद्भागवतको पूर्वाङ्ग दीप प्रज्वलनसँगै महायज्ञको शुभारम्भ हुनेछ । महायज्ञको पहिलो दिन कलश यात्रा निकाल्ने र तीन किलोमिटर बजार परिक्रमा गरिने कार्यक्रम रहेको घिमिरेको भनाइ छ ।

शास्त्र अध्ययन र आध्यात्मिक अनुसन्धानका लागि महायज्ञ सञ्चालन गरिने र महायज्ञले समस्त लोककल्याणका लागि बिगुल फुक्ने एवंक्रमले भक्तजनहरूलाई प्रेरणा दिने उनले बताए ।

उनले भने,‘पछिल्लो पुस्ता आफ्नो स्वधर्मको महत्व र औचित्यदेखि अज्ञात रहेकाबेला सनातनको शाश्वत फाइदाको ज्ञान गराउन र उनीहरूलाई कुलतबाट जोगाउन समेत विशाल कार्यक्रम आयोजना गरेका हौं ।’

वैदिक सनातन धर्मको संरक्षण र प्रचारप्रसार गर्ने हेतुले विराट गुरुकुल स्थापनार्थ महायज्ञले राम्रो सहयोग पुर्याउन प्रमुख घिमिरेले बताए ।

सडकमा अलपत्र परेका एवं भोको पेट र उपचार बिना तड्पिरहेका बृद्ध आमाबुवा र अशक्तहरूलाई भगवानमा महत्वको आलोक झल्काउन र उनीहरूलाई बस्ने उचित वातावरण बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

राष्ट्रको असली मर्म उजागरका लागि विभिन्न कालखण्डमा महायज्ञ सञ्चालन हुँदै आएको घिमिरेले स्मरण गरे । विशेष अनुष्ठानका माध्यम मार्फत ज्ञानको उजागरका लागि पनि महायज्ञ सञ्चालन गर्न लागिएको उनको भनाइ छ ।

त्यसक्रममा नेपालको धार्मिक पर्यटन वृद्धिका साथै स्वधर्मको पहिचानका लागि महायज्ञको आयोजना गर्न लागिएको घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति : १८ भाद्र २०८१, मंगलबार  ४ : २५ बजे