Logo

संवाद

दोहोरी भनेर फोहोरी गीत गाउने चलन बढ्न थाल्यो : रामप्रसाद खनाल



करिब दुई दशकदेखि अमेरिका बस्दै आएका रामप्रसाद खनालको पृथक परिचय छ । बरिष्ठ लोकदोहोरी गायक एवम संचारकर्मीका रुपमा उनी परिचित त छँदैछन् त्यसबाहेक उनी एक सक्रिय समाजसेवी र व्यवसायी पनि हुन् । नेपालमा संकट पर्दा वा कोही नेपालीलाई दुःख पर्दा खनाल नेतृत्वको टीमले सक्रियता देखाउँछ र मनकारी भावनाले सहयोग जुटाउँदै आएको छ ।

सोही सक्रियताका कारण खनाललाई अमेरिकाका राष्ट्रपतिद्वारा प्रदान गरिने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त भइसकेको छ । लोकलय र लोकभाकामा आधारित ५२ गीतिसंग्रह तथा विभिन्न विषयमा लेखिएका १८ पुस्तक प्रकाशित गरिसकेका उनी अन्तर्राष्ट्रिय कलाकार मञ्चको अध्यक्षको जिम्मेवारीमा पनि छन् । स्वदेश एवम विदेशमा लोक दोहोरीको प्रचलन भित्र्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका खनाल हालै नेपाल आएका बेला गरेकाे कुराकानी :

अमेरिका बस्नुहुन्छ, अमेरिकाका शहरहरुमा नेपाली गीत संगीतको अवस्था कस्तो छ ?
अमेरिकामा नेपाली गीत संगीत नेपाली समूदायमाझ पहुँच हुने कुरा स्वभाविक नै भयो । तर अमेरिकनहरुलाई हाम्रो लोक संस्कृति र गीत संगीतबारे धेरै आकर्षित गर्न सकेका छैनौं । त्यहाँ अझै हाम्रो पहुँच पुग्न सकेको छैन् । तर हाम्रो कार्यक्रमहरुमा अमेरिकनहरु आउने गरेका छन् । गीत संगीत सुन्छन्, रमाउँछन् । त्यो दृश्य देख्दा चाँही नेपाली गीत संगीतले पनि विदेशीहरुलाई पनि छुन्छ भन्ने लाग्छ ।

नेपाली कलाकारहरुको उपस्थिति र प्रश्तुतीले चाहीं कस्तो प्रभाव जमाएको छ ?
अमेरिकाका शहरहरुमा नेपाली समुदायले जे गरेतापनि राम्रो प्रतिक्रिया आउने गर्छ । म १८-१९ वर्ष अघि अमेरिका पुग्दा र हालको अवस्था हेर्दा धेरै नै भिन्नता देख्छु । पहिला हामी एकदमै सिमित थियौं, अहिले बृहत भइसकेका छौं । लगभग ५०-६० जना नाम चलेका र अन्तर्राष्ट्रिय रुपमा पनि परिचित भएका कलाकारहरुको अमेरिकामै छौं । नयाँ कलाकारहरु पनि जाने क्रम बढ्दो छ । समुदायको हरेक कार्यक्रममा नेपाली गीत संगीत र कला संस्कृतिको सक्दो पहुँच विस्तार गर्न हामी दृढ भएर लागिरहेका छौं ।

तपाइँ चाहीं अमेरिकामा के गर्नुहुन्छ ?
गीत संगीतमा सक्रियता जारी छ । पत्रकारिता पनि जारी राखेको छु । एउटा ‘नेपालमदर डटकम’ भन्ने मिडिया संचालनमा ल्याएको छु । विभिन्न व्यापार व्यवसायमा पनि सक्रियता बढाएको छु । खनाल विजिनेस ग्रुप मेरो आफ्नै छ । अन्य विभिन्न व्यापारिक समूहसँग मिलेर काम गरिरहेको छु । बाँच्नका लागि विभिन्न व्यवसायिक क्षेत्रमा क्रियाशील छु ।

यस्तो व्यस्तता रहँदा गीत संगीत र अन्य सिर्जनाका लागि समय व्यवस्थापन कसरी मिल्छ ?
म अमेरिका बसेपछि पनि हरेक वर्षजसो लोक, दोहोरी, आधुनिक गीत, भजन र गजलहरु लेखिरहेको हुन्छु । गीत गाउन र कृति प्रकाशन गर्न समय व्यवस्थापन गर्छु । एल्बमहरु निकाल्छु । म जस्तै अन्य कलाकारहरुले पनि त्यसलाई निरन्तरता दिइरहेका छन् । नेपाली गीत गाएरै अमेरिकामा बाँच्न चाँही सकिँदैन् । रोजगारी वा आफ्ना बिजनेसहरुमा संलग्न त हुनैपर्छ । त्यसको साथसाथै गीत संगीतलाई पनि निरन्तरता दिइराखेका छौं ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च चाहीं किन र के का लागि स्थापना गरियो ?
अन्तर्राष्ट्रिय आर्टिस्ट फोरम (अन्तर्राष्ट्रिय कलाकार मञ्च)चाही एक दशक अघि नै स्थापना गरेका हौं । त्यसको संस्थापक र अध्यक्ष म नै छु । अमेरिकाका बिभिन्न शहरहरुमा शाखाहरु छन् । संसारका ३५ वटा देशमा देश स्तरीय शाखाहरु छन् । संस्थामा नेपाली कलाकारहरुको संख्या बढी छ भने विदेशी कलाकारहरु पनि आवद्ध छन् । विशुद्ध कलाकारिता वा गीत संगीत र साहित्यका लागि संस्था स्थापना गरेको हौं ।

नेपालमा संकट पर्दा वा भूकम्प जाँदा सबैभन्दा पहिला प्रतिक्रिया दिने संस्था पनि अन्तर्राट्रिय कलाकार मञ्च थियो र छ । भुकम्प गएको तेस्रो दिन त हामीले सहयोग पठाइसकेको थियौं । फिल्डमा कलाकारहरु खटाएर भूकम्प प्रभावित ठाउँहरुमा रासन, लत्ता कपडा वितरणदेखि आर्थिक सहयोगको जोहो गर्ने काम गरेका थियौं । ठूलो रोग लागेर जीवनमरण समस्यामा परेका सयौं पीडितलाई सहयोग गरेका छौं । नेपाल बाहिर रहँदा होस या स्वदेशमै रहँदा होस विपत र संकटमा हामीलाई छुन्छ र दुख्छ । यस्तोबेला संस्था आवश्यक पर्छ भनेर जन्माएका हौं ।

हिजोआजको तीज गीतको भाका र शैलीलाई कुन रुपमा लिनुभएको छ, विगत र वर्तमानमा के भिन्नता छ ?
पहिला पहिला हामी तीजका गीतमा मौलिकता पाउथ्यौं । वर्षभरी घटेका घट्नाक्रमहरुलाई गीतमा लेखेर, सोही अनुसार महिला पुरुष सँगै गाउने, सँगै नाच्ने, सँगै बजाउने चलन थियो । अहिले चाँही विस्तारै झ्याउरे र आधुनिक गीतलाई तीजसँग गाँसेर आधुनिक जस्तो बनाउने चलन चलेको छ । हामीले के बुझ्नुपर्छ भने कुनैपनि गीत तीज पर्वको बेलामा निकाल्दैमा तीजको गीत हुँदैन् । दुःखका साथ भन्नुपर्छ कलाको नाममा अहिले चर्तिकला देखाउनेहरुको हावी भएको देखिन्छ । कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन् । यो कुरा मैले व्यक्तिगत रुपमा पनि भन्दै आएको छु ।

देशमा लोक, दोहोरी र सांस्कृतिक गीतहरुको लागि योगदान दिएको मान्छे भएका कारणले मैंले यसबारेमा बोल्नैपर्छ । गीत संगीतले फड्को त मारेको छ तर विकाससँगै हामी विनाशको बाटोतर्फ पनि गइरहेका छौं । विकृतीतर्फ गइरहेका छौं । जुन एकदमै दुखद छ ।

म फेरिपनि कलाकारहरुले कला देखाउने हो चर्तिकला देखाउने होइन भन्न चाहन्छु । एकैछिन भाइरल भएर केही हुनेवाला छैन् । लोकप्रिय हुने होइन, लोकको प्रिय हुन जान्नुपर्छ । दर्शकहरुले पनि यस्ता अपाच्य, विकृतीपूणर् गीतहरुलाई होईन, मौलिकतालाई संरक्षण गर्ने गीतहरुमा गाउन सल्लाह दिनुपर्छ र सोही अनुसार ग्रहण गर्नुपर्छ ।

तर हिजोआज मान्छेहरुले अलिअलि त चर्तिकला नै रुचाउन थालेका छन् नि होइन ?
अहिले के भएको हो थाहा छैन् । तर मान्छेहरुलाई त्यस्तै अपाच्य गीतहरु मनपर्न थालेको छ । हामी बसेर विषय र मुद्दामा माथि गरेको कुराकानी वा वहस चल्दैन । तर नचाहिने, अनावश्य कुरा गर्ने हो भने त्यस्तो भिडियो धेरैले हेर्छन् । यसको मतलब के भने मिडियाकर्मीदेखि अन्तर्वार्ता दिने, नेता, जनता, कलाकार सबै सस्ता हुन थाल्यौं । यस्तो बेला देश कता जादैँछ भनेर सोच्नुपर्ने बेला आएको छ । गलत बाटो बन्द गरेर कुनैपनि राम्रो बन्नेतर्फ लाग्नु श्रेयकर हुन्छ । राम्रो मान्छेलाई युगौं युगसम्म खोजी हुन्छ ।

मैंले रेडियो नेपालमा ३५ वर्ष अगाडि गाएका गीतहरु अझै किन खोजी भइरहेको छ, बुझनपर्छ । नेपाल टेलिभिजनमा चलाएका कार्यक्रम, गाएका गीत खोजी भइरहेको हुन्छ । राम्रा गीतहरु पनि खोजी हुनु भनेको गीत बाँचिरहनु हो । तर अहिले त ‘बिस्ताराले पोल्यो’रे के के हो के के । ‘बिहे अगाडि दिन्न बरी लै..’रे, त्यो भनेको के हो ? यस्तो पनि हुन्छ ? अनि त्यस्तै छाडा गीत चल्छ पनि । मेरा कलाकार भाइ बहिनीहरुलाई म के पनि भन्न चाहन्छु भने गीत गाउनु भन्दा अगाडि गीतको स्क्रिप्ट माग्ने, हेर्ने र अध्ययन गर्नुहोला ।

म एक लोक गायक हो, त्यो भनेको लोकको गायक, लोक भनेको समाज, जनता हो । लोकले मन पराउने गीत गाउने हो । तीज गीत गाएपनि वा दोहोरी गीत भएपनि । दोहोरी भनेर फोहोरी गीत गाएको पाइन्छ । बिजोग छ अवस्था । तर यति भनिरहँदा राम्रा गीतहरु पनि आएका छन् । राम्रो पनि भइरहेको छ । गीत संगीतको विकास पनि भइरहेको छ ।, गीत छनोट गरेर अघि बढ्नुपर्छ । कलाकार र दर्शक वा स्रोतहरु सुध्रिनु पर्छ ।

नेपाल र प्रवासमा मेला, महोत्सवहरु भइरहेका हुन्छन । त्यहाँ कलाकारहरुलाई निम्ता गरिन्छ । यस्ता कार्यक्रमले कलाकार र नेपाली संगीतलाई कस्तो टेवा पुर्याएको छ, विदेशको अवस्था कस्तो छ ?
म संसारका ४५ वटा देशमा कलाकार र पत्रकारको रुपमा गएको छु । कार्यक्रमहरु पनि गरेको छु । त्यहाँ जाँदा कहीं कतै कुनैपनि नेपाली समाजमा अपमान भएको महशुस गर्नुपरेको छैन् । अपमानित हुने खालको गीत लेखेको र गाएको पनि छैन् । त्यसकारण सबैले माया गर्नुभएको जस्तो लाग्छ । नेपाल वा अरु देशमा हुँदा सबैले माया गर्नु भनेको नै मेरो कमाइ हो । अपमानित त्यो कुरालाई गरिन्छ जहाँ अपमानित हुने खालको काम गरिन्छ । त्यसकारणले हरेक कलाकारहरुले आफू अपमान नहुने प्रकारको काम गर्नुपर्छ ।
नेपालबाट स्टेज शो गर्न जानेहरुलाई यति पैसा दिने भनेर तोकिएकै हुन्छ । खाने, बस्ने व्यवस्था भइहाल्छ । धेरै ठूलो अपेक्षा राख्नु हुँदैन् । नेपालीहरुको सानो समुदाय छ । चार पाँच सयको बीचमा कार्यक्रम गर्दा अलग्गै होला । तथापी पहिलेभन्दा अहिले राम्रो हुँदै गएको छ । अहिले बिना पारिश्रमिक कसैले पनि बोलाउँदैनन् । पारिश्रमिक प्राप्त हुन्छ । राम्रै छ ।

हजुरका गीतहरु चाहीं कस्तो शैली वा भाकामा छन् । विधा कुन हो ?
म लोक गायक हुँ । मेरा अधिकांश लोक गीतहरु छन् । दोहोरी गायक भएको कारणले मेरा अधिकांश गीतहरु लोक दोहोरी हुन्छन् । लोक र दोहोरी मेरो आफ्नो विषेशज्ञता हो । तर, म भजन पनि गाउँछु, गजलहरु पनि छन् । तीज गीत नि छन् । रेडियो नेपालमा हुँदा होस् या नेपाल टेलिभिजनमा हुँदा होस् अथवा म पत्रकार हुँदा नै किन नहोस् मैंले सधैं आफ्नो नेपालीपन, नेपाली संस्कृति, नेपाली पहिचान, रितिरिवाज, अनुशासन र मर्यादा ख्याल गर्दै गीत लेख्दै र गाउँदै आएको छु । अमेरिकामा १८ वर्ष अगाडि म पुग्दाखेरी त्यहाँ तीज आएको पत्तो हुँदैनथियो, पात्रो पल्टाएर हेर्नुपर्ने स्थिति थियो । म गएको वर्षदेखि तीज महोत्सव सुरु गरियो । महोत्सव अहिले अमेरिकाका हरेक राज्यहरुमा हुने गरेको छ ।

तपाईले आवाज भर्नुभएको गीतहरुको संख्या कतिजति पुग्यो ?
करिब एक हजार दुई सय गीत कट्यो होला । लोक, दोहोरी, भजन, गजल गरेर एक हजार दुई सय गीतहरु पुगेका छन् । एक हजार पाँच सय बढी कविता लेखेको छु । अहिलेसम्म मेरो १८ वटा किताबहरु प्रकाशन भएका छन् । ५२ वटा एल्बमहरु प्रकाशन भएका छन् । गीत संगीतमा मैंले जीवनका चार दशक विताइसकेको छु । नेपालमा कलाकारहरुको स्थान निर्धारण गर्ने भनेको रेडियो नेपालले हो, म रेडियो नेपालको विशिष्ट श्रेणीकै गायक हुँ । सरकारको तर्फबाट कलाकार तथा गायकहरुको स्तर निर्धारण गर्दा मलाई विशिष्ट श्रेणीमा राखिएको छ ।

नेपाली गीत संगीतलाई सरकारको तर्फबाट सहयोग र प्रोत्साहन कस्तो हुनुपर्ला ?
सरकारले सबै कुरा नियन्त्रण गर्न सक्छ त म भन्दिन । तर सरकारी निकायहरुले कानुन स्पष्ट नभएर हो अथवा त्यसको कार्यान्वयनको पाटो फितलो भएर हो छाडा गीत संगीतको नियन्त्रण गर्न सकिरहेका छैनन् । यसको नियन्त्रण कसले गर्ने त ? एनजिओ आइएजीओ आएर त गर्ने होइनन् । सरकार वा उसको मातहतका निकायले गर्ने हो । सरकारी निकायले गर्ने हो भने कुन निकायले कसरी गर्ने भन्ने स्पष्टता अझै भइसकेको छैन । व्यवहारमा अझै ति कुराहरुको समस्या देखिन्छ । चलचित्रको क्षेत्रमा काम गर्ने चलचित्र विकास बोर्ड भनेजस्तै गीत संगीतको पनि एउटा बोर्ड बन्दा राम्रो हुन्छ भन्ने लाग्छ ।

समग्र कलाकारहरुको आर्थिक अवस्था वा आम्दानीको मूल्यांकन चाहीं कसरी गर्नुहुन्छ ?
अहिले सिमित कलाकार चलेका छन वा रुचाइएका छन् । जसलाई स्टुडियो गीत रेकर्ड गराउन टाइम लिनुपर्छ । सबैको त्यस्तो अवस्था छैन । कमाउनेको संख्या दुईतीन प्रतिशत होला । आम कलाकारहरुको स्थिति सजिलो चाँही छैन । तैपनि मेला महोत्सव वा देश विदेशका कार्यक्रमले राम्रै गरेको छ । २०५३ सालमा बुटबलमा भएको औद्योगिक प्रदर्शनीमा लोक दोहोरीलाई प्रवेश गराएका थियौं । म आफैं पनि त्यहाँ सहभागी थिएँ । त्यसपछि लोक दोहोरी गीतहरुलाई पनि मेला महोत्सवमा गाउन सुरु भएको हो । म नेपाल छँदै कयौं मेला महोत्सवहरुमा उद्घाटन गरेर प्रस्तुती दिइन्थ्यो । आज पनि मेला महोत्सवहरु त्यही लोक दोहोरी गीतहरुका कारणले चल्ने गरेको छ ।

तीज आउनै लाग्यो, यसपाली तपाईको स्वरबाट तीज गीत सुन्न पाइँदैन् ?
हाम्रो समूहले चार वटा तीजका गीत गरेका छौं । चारमध्ये दुईवटा गीतहरु रिलिज भइसकेका छन् । अन्य गीतहरु पनि छिट्टै रिलिज गर्ने तयारीमा छौं । तपाईले कुनैपनि मेरा गीत संगीतहरु हेर्नुभयो भने परिवारका सबै सदस्यहरुसँगै बसेर आनन्दले हेर्ने र सुन्न सकिन्छ । मैंले गाएका तीजका गीतहरुमा चाँही देशको परिस्थिति चित्रण गरिएको छ ।
कस्ता तीज गीत गाइन्थ्यो पहिला
हेर अहिले कस्ता भए ।
सुन्न, हेर्न लाजै लाग्ने सार्है सस्ता भए ।

देशमा भइरहेका छाडा गतिविधिहरु, घटनाक्रम कला क्षेत्रमा मौलाइरहेको छाडापनको बारेमा मौलिक भाकामा ढालेर तीज गीतको गरिमा बढ्ने गरेर गाउने प्रयास गरेको छु । म सम्पूर्ण दर्शकहरुलाई समेत यस्तै मौलिक भाकाहरुलाई माया गरिदिनहुन आग्रह गर्न चाहन्छु ।

प्रकाशित मिति : १५ भाद्र २०८१, शनिबार  १२ : ०४ बजे