Logo

मुख्य समाचार

गोलबजार नगरपालिकामा मालपोत शुल्कमा अत्याचार !



सिरहा । गोलबजार नगरपालिकाले मालपोत दरमा पाँच हजार गुणा वृद्धि गरेको छ । गत आर्थिक वर्ष २०८०÷०८१ सम्म पाँच रुपैयाँ मालपोत तिर्दा हुने ठाउँमा अब आठ हजार तिर्नुपर्ने भएको छ ।

आर्थिक वर्ष २०८१÷०८२ को लागि नगरसभाबाट पारित गरिएको करको दररेट अनुसार मालपोत असुलीको आधारमा तीन भागमा जग्गाको वर्गीकरण गरिएको छ ।

पहिलो क्षेत्र हो औद्योगिक (कर्पोरेट ) क्षेत्र । यस क्षेत्र अन्तर्गत वडा नं. ४, ५ र ६ को अधिकांश भाग पर्दछ । बजार क्षेत्रको आवास क्षेत्रलाई औद्योगिक क्षेत्र बनाएर प्रति धुर २० रुपैयाँ मालपोत उठाउने विधेयक नगरसभाबाट पारित गरी लागू गरिएको छ । यस अनुसार विघाको ८ हजार हुन आउँछ ।

त्यसैगरी सम्पूर्ण नगर भित्रको गाउँबस्ती र सडकले छोएको जग्गालाई आवास क्षेत्र घोषित गरी प्रतिधुर १० रुपैयाँ मालपोत उठाउने नियम लागू गरिएको छ । यस अनुसार एकदेखि १३ वटै वडाको गाउँबस्ती र सडकले छोएको जग्गाको मालपोत प्रतिविघा ४ हजार तिर्नुपर्ने भएको छ ।

कृषिको लागि प्रयोग हुने जग्गामा पनि प्रतिकट्ठा २० रुपैयाँ मालपोत तोकिएको छ । यस अनुसार अब एक विघा जग्गाको चार सय रुपैयाँ मालपोत तिर्नुपर्ने भएको छ ।

नयाँ नीयम अनुसार गोलबजार नगरपालिकाले मालपोत उठाउन थालेपछि आम जनता विलखबन्दमा परेका छन् । मालपोत तिर्न जाने नागरिकहरु अच्चम्मित भएका छन् ।

गत वर्षसम्म ५ रुपैयाँ तिर्दा हुने ठाउँमा यसपाली एक्कासी चार हजार देखि आठहजार प्रतिविघा मालपोत तिर्नुपर्दा जनता मारमा परेको स्थानीयको गुनासो छ ।

यस विषयमा नेपाली कांग्रेसका नेता राजदेव साह लालबाबु भन्छन् ,‘जनताहरु गुनासो गर्न आउन थाले । आम जनताको गुनासो बाक्लै आउन थालेपछि के भएको रहेछ भनेर बुझ्दै जाँदा हाम्रो ध्यान आकृष्ट भयो, उनले भने,‘यो त सिधै रावण र कंश प्रवृत्ति देखियो । आधुनिक राज्य प्रणालीमा प्रगतिशील कर प्रणाली हुन्छ । कर वृद्धि गर्दा समय, मूल्यवृद्धि , मुद्रास्फिति दर, आर्थिक गतिविधि सबै कुराको मूल्याङ्कन गरिन्छ । यो त अविवेकी र हुल्लडवाजहरुले सनक चढेर गरेको निर्णय जस्तै भएको छ । एकै पटक पाँच हजार गुणा कर वृद्धि संसारमा कही कतै भएको छैनहोला ।’

उनले भने,‘जनताको पीरमर्का बुझेर हामीले तत्कालै पार्टीको बैठक राखेर निर्णय गरेका छौं । एक साताभित्र रावण र कंशको जस्तो कर खारेज गरिएको र मालपोत पूर्ववत रुपमा कायम गरिएको लिखित घोषणा गरिएन भने नेपाली कांग्रेस सडकमा उत्रिन्छ । शासकहरुको सदबुद्धि पलाओस् । नत्र आन्दोलनको आँधीबेहरीले नगरपालिकाको कालोमैलो सफा गर्छ । नेपाली कांग्रेसले जन आन्दोलनको अगुवाई गर्छ । म स्वयं नेतृत्व गर्छु ।’

नेपाली कांग्रेसको बैठकमा आफ्ना वडाध्यक्ष बालकृष्ण गौतमसँग स्पष्टिकरण सोधिएको छ । मेयर श्याम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जनघाती निर्णयमा किन सही गरेको ? मालपोत वृद्धिको निर्णयमा सही गर्नु अघि पार्टीलाई किन नसोधेको ? भ्रष्टाचारको केसहरुमा प्रमुख प्रशासकीय अधिकृत केसीको बचाउमा किन उभिएको जस्ता प्रश्नहरु सोधिएको कांग्रेसले जनाएको छ ।

बैठकमा मेयर श्याम श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृतबीचको अप्राकृतिक मोह  र घनिष्टताको कारणबारे चर्चा चलेको थियो ।  बैठकमा गौतमलाई पार्टीका कार्यकर्ताहरुले प्रश्न गरेको कांग्रेसका नेता राजेस्वर साहले जानकारी दिएका छन् ।

पार्टीको बैठकमा नेतृत्व पंक्ति र कार्यकर्ताहरुले हुर्मत लिने गरी स्पष्टिकरण सोधेपछि गौतम मेयर श्रेष्ठलाई भेट्न पुगेको र तत्कालै कार्यपालिका बैठक गराएको बुझिएको छ । उनले पार्टी बैठकमा आफूलाई सोधनी भएको स्वीकार गरे ।

उनले कार्यपालिकाको बैठक भएको पनि स्वीकार गरेका छन् । उनले भने,‘मालपोत वृद्धिमा हाम्रो प्राविधिक त्रुटी भएको हो । कट्ठा लेख्ने ठाउँमा धुर लेखिएछ । हामी सच्याउँछौं । हिउँदै अधिवेशनमा यो निर्णय सच्चिन्छ । सच्याउन किन ढिलाई गरेको भनेर थप प्रश्न गर्दा उनले भने राजस्वका कर्मचारी तालिममा गएका छन् । कम्प्यूटर टाइप गर्ने मानिस छैन । उनी आएपछि सच्याउँछौं ।’

मालपोत अस्वभाविक वृद्धि गरिएको सन्दर्भमा नेकपा एकीकृत समाजवादीका युवा नेता राम उदगार साह भन्छन् ‘अब मेयर श्याम श्रेष्ठले सिरिञ्ज लिएर जनताको रगत तान्न मात्र बाँकी छ । एक साताभित्र मालपोतको नाममा जनताको लहु तान्ने नगरपालिकाको निर्णय खारेज गरिएन भने हामी आन्दोलनमा उत्रिन्छौं । मेयर श्रेष्ठको रावण राज चल्दैन । उनले गोलबजारबाटै बंगलादेशको दृश्यलाई निम्तो दिएका छन् ।’

मालपोत वृद्धि सम्बन्ध पूर्वमेयर देवनाथ साह भन्छन्, ‘पञ्चायतकालीन व्यवस्थामा समेत डेढ विघा जमिन हुने किसानलाई ९५ प्रतिशत मालपोत छुट गरिएको थियो । हाम्रो पालामा पनि रसिदको पैसा वापत मात्र पाँच रुपैयाँ मालपोत उठायौं । सम्पति कर लगाउँदा आन्दोलन भएको थियो । त्यसपछि हामीले  प्रति लाखमा १० रुपैयाँ सम्पति कर लगाएका थियौ । तर अहिले त नगरपालिकाले अत्याचारको सीमा नाघेको छ । यति मालपोत त जनताले तिर्नै सक्दैनन् । यो तुरुन्त बदर गरिनुपर्छ, पूर्वमेयर साहले भने,‘जनताले चुनावमा गरेको गल्तीको नतिजा अहिले भोग्नु परिरहेको छ । उनले भने हाम्रा वडाध्यक्षहरु पनि मूर्ति जस्ता छन् । राम्रा देखिन्छन् तर बोल्दैनन् ।’

नेकपा माओवादीका नेता रामचन्द्र सिंह भन्छन्,‘मालपोत वृद्धिको अनुपात हेर्दा त लाग्छ नगरपालिका भित्रका शासकहरु रावण र कंशका उत्तराधिकारी हुन् । सिधै लुटतन्त्र हो । थोरै पनि विवेक भएको शासकले यस्तो अत्याचारी र हाहाकारी कर लगाउँदैनन् ।’

मेयर श्याम श्रेष्ठसँग जिज्ञाशा राख्दा उनले कार्यपालिकाको बैठकमा छलफल गरिसकेको सुनाए । ‘कही कतै गल्ती भएको रहेछ भने त्यसलाई सच्याउँछौं । कार्यपालिकाबाट सच्याएर हिउँदे अधिवेशनबाट अनुमोदन गराउँछौं, उनले भने । 

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १ : २९ बजे