Logo

मुख्य समाचार

सिटिइभिटीको पाठ्यक्रम समय अनुसार निर्माण गरिनुपर्ने



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् ।

विहीबार काठमाडौंमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सिटिइभिटी सम्बन्धी नीतिलाई नै पुननिर्माण गर्न नसकेपनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन् ।

उनले भनिन्, ‘ सिटिइभिटीलाई पुनःसंरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुननिर्माण गर्न नसकेपनि कम्तिमा सिटिइभिटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ । विचाराधिन रहेको ऐनमा पनि सुझावदिन सकिन्छ । सिटिइभिटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ । यसको लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौ ।’

यस्तै, उनले वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरु भइरहेको बताइन् ।

युवाहरुलाई देशमा राख्नको लागि धेरै काम गर्न बाकी रहेको उल्लेख गर्दै शिक्षालाई सबल बनाउने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न सक्नुपर्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहिबार  १२ : ४४ बजे