म्याग्दी । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मंगलबार साँझ खसेको हिउँपहिरोले पूर्णरूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सिखोला बग्न थालेको छ ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सिखोला क्षेत्रमा हिउँपहिरोले थुनिएको खोला करिब १३ घण्टापछि आज बिहानदेखि बग्न थालेको हो । थासाङ–२ का वडाध्यक्षसमेत रहेका गाउँ कार्यपालिकाका प्रवक्ता गौतम शेरचनले बिहानैदेखि थुनिएको ठाउँबाट खोला बग्न थालेको बताए ।
खोँचमा थुप्रिएको हिउँलाई खोलाको पानीले पगालेर विस्तारै बग्न थालेको शेरचनले बताए । तटीय क्षेत्रका नौवटा घरलाई राति सुरक्षित ठाउँमा सारिएको थियो । पाखो र खोला किनारमा थुप्रिएको हिउँ पहिरोले मानवीय र भौतिक क्षति नगरेको थासाङ गाउँपालिका–२ का वडा सदस्य भीमप्रसाद थकालीले बताए ।
प्रतिक्रिया