Logo

मुख्य समाचार

योमरी पुन्ही: के हो योमरी ? किन खाइन्छ ?



काठमाडौं । नेपालभाषी समुदाय कला र संस्कृति तथा संस्कारले अत्यन्त धनी र समृद्ध छ। बार्‍है महिना मनाइने फरक-फरक चाड, पर्व, तिथिमितिले पनि नेपालभाषी समुदाय संस्कृति र संस्कारमा अत्यन्त धनी रहेको पुष्टि हुन्छ। 

प्रत्येक तीस दिनमा एकपटक आउने पूर्णिमालाई आफ्नै मौलिकपना दिएर त्यसदिन फरक–फरक देवदेवीलाई पूजाआजा गर्ने गरिन्छ। सोहीअनुसार फरक–फरक खानेकुराका परिकार बनाएर खाने प्रचलन नेवार समुदायमा रहेको छ ।

योमरी पुन्हीको दिन खानको लागि योमरी पकाउनुअघि नेवारहरु ठूलो आकारमा दुइटा योमरी बनाउँछन्। यी दुई योमरीमध्ये एउटालाई ‘मायो’ र अर्कोलाई ‘बायो’ भनिन्छ। मायोले माता र बायोले पिताको प्रतिनिधित्व गर्ने गर्दछ ।  यी दुई योमरीको आकार पनि फरक-फरक हुन्छ।

‘मायो त्रिकोणाकार हुन्छ र यो पकाउँदा यसमा चाकु तथा तिल नराखी दाल (मास, मुंग आदि) राखिन्छ भने, ‘बायो भने गोलाकार एवं लटुकार हुन्छ। यसमा चाकु र तिलको मिश्रण राखेर पकाइन्छ। खानको लागि पनि बायोजस्तै सानो आकारको योमरी बनाइन्छ।’

यस्तै प्रचलनमध्ये मंसिर पूर्णिमा महत्वपूर्ण छ। यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ। तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले पकाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ। 

यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ। यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको योमरी खाने भएकोले यसलाई योमरी पुन्ही पनि भनिन्छ।

देशभरका नेपालभाषी योमरी बनाएर देवदेवीलाई चढाइसकेपछि प्रसादको रुपमा आफूहरु पनि खान्छन्। तैपनि यो पुन्ही एकदिनमात्र मनाइँदैन। योमरी पुन्हीको भोलिपल्ट नेपालभाषीहरु आफ्ना नातागोता, छोरी, छोरीज्वाइँलाई घर बोलाएर योमरीसहितको भोज खुवाउने गर्छन्। 

के हो योमरी ?

योमरी भन्नाले यसलाई टुक्राएर अथ्र्याउनुपर्छ। ‘यो’ भन्नाले मनपर्ने र ‘मरी’ भन्नाले रोटी भन्ने बुझिन्छ। यसरी सबैलाई मनपर्ने भएकोले यसलाई योमरी भनिएको हो। 

साथै परापूर्वकालमा चिनी तथा सख्खर एवं आजभोलि जस्तो थरिथरिका मिठाइको प्रचलन नभएको बेला चाकु र तिल राखेर चामलको पीठोबाट पकाइने रोटी साँच्चै मीठो र स्वादिष्ट हुन्छ। 

किन खाइन्छ योमरी ?

काठमाडौं उपत्यकामा दसैंतिहारपछि विस्तारै जाडो बढ्न सुरु हुन्छ। पुस लाग्दै आउँदा जाडोको मात्रा पनि बढ्दै जान्छ। सकिमना पुन्हीमा पिडालु र भुटेको गेडागुडी खाएर शरीरलाई चाहिने ऊर्जा र ताप लिएका नेवारहरु पुसमा बढ्ने जाडोबाट बच्न तथा शरीरलाई आवश्यक पर्ने ताप र ऊर्जा प्राप्त गर्न योमरी खान्छन्।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ९ : ४३ बजे