Logo

मुख्य समाचार

डा.खड्कालाई प्रधानमन्त्रीले भने : तपाइँको प्रश्न सुझावपत्र जस्तो भयो



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसद डा.नारायण खड्काले सोधेको प्रश्न सुझावपत्र जस्तो भएको बताएका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसद खड्काले ९ मिनेट ३० सकेन्डको प्रश्न सोधेपछि प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।

उनले भने, ‘माननीय सदस्यले प्रश्न कहाँनिर गर्नुहुन्छ भनेर ध्यानपूर्वक सुनिरहेको थिएँ । खासमा प्रश्न फेला पार्नै मुस्किल पर्यो’, प्रधानममन्त्री ओलीले भने,‘यो प्रश्नभन्दा पनि सुझावपत्र जस्तो छ । यसमा प्रश्नमा भन्दा पनि सोलुशन आफैँमा आएको छ ।’

खड्काले प्रधानमन्त्रीलाई बधाई दिँदै लामो प्रश्न सोधेका थिए । प्रश्नको जवाफ दिने क्रममा ओलीले खड्काको प्रश्न कहाँनिर हो भन्ने आफूले पत्ता लगाउन नसकेको बताए । ओलीले त्यसो भन्दा संसदमा हाँसो चलेको थियो । विहीबारको बैठकमा १३ जनाले नाम टिपाएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहिबार  ४ : १० बजे